Butwal Today

रूपन्देही उद्योग संघको ४८औँ साधारणसभा : उद्योगीका समस्या समाधान गर्न आग्रह

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।  रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत जटिलता, करको भार, जग्गाको अभाव, बैंकबाट ऋण लिन कठिनाइ तथा औद्योगिक क्षेत्र व्यवस्थापनका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

रूपन्देही उद्योग संघको सोमबार बुटवलमा सम्पन्न ४८औँ वार्षिक साधारणसभामा उद्योगीहरूले उद्योगमैत्री वातावरण निर्माण, लगानीको सुरक्षा र निजी क्षेत्रको मनोबल बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्योगीहरूले विभिन्न शीर्षकमा धेरै ठाउँमा कर तिर्नुपरेको, उद्योग विस्तारका लागि पर्याप्त जग्गा उपलब्ध नभएको तथा नीतिगत जटिलताका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भोग्नुपरेको बताए । उनले स्वदेशी उद्योगलाई टिकाउने र उद्योग विस्तारका लागि अनुकूल वातावरण बनाउने नीति ल्याउन तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।

साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसी चौधरीले उद्योगीका समस्या तीनै तहका सरकारसँग जोडिएको बताए । रूपन्देही औद्योगिक क्षेत्रको केन्द्र र अर्थतन्त्रको आधार भएको उल्लेख गर्दै उनले उद्योग क्षेत्र बलियो नभएसम्म समग्र आर्थिक विकास सम्भव नहुने धारणा राखे ।

बैंकको ब्याजदर घटे पनि उद्योगीले सहज रूपमा ऋण पाउन नसकेको उल्लेख गर्दै मन्त्री चौधरीले नीतिगत समस्याका कारण उद्योगीहरूले कठिनाइ भोग्नुपरेको बताए । सफल उद्योगीमाथि हुने गलत व्यवहारले निजी क्षेत्रको मनोबल कमजोर बनाउँदै लगेको उनको भनाइ थियो ।

‘देखासिकी गरेर उद्योग व्यवसाय खोल्ने प्रवृत्तिले मात्रै उद्योगको स्थायित्व सुनिश्चित हुँदैन । उद्योगीहरूले नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्छ,’ उनले भने ।

उद्योग स्थापना भएका स्थानमा पछि बस्ती विस्तार हुँदा उद्योग र स्थानीय समुदायबीच समस्या उत्पन्न हुने गरेको मन्त्री चौधरीले बताए । उद्योगबाट हुने प्रदूषण नियन्त्रणका लागि आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने र स्थानीय समुदायले पनि औद्योगिक गतिविधि तथा त्यसको व्यवस्थापनबारे बुझ्नुपर्ने उनले बताए ।

औद्योगिक क्षेत्रको व्यवस्थापन प्रभावकारी हुन नसकेको स्वीकार गर्दै मन्त्री चौधरीले प्रदेश सरकारले काम गर्न खोजे पनि संघीय सरकारबाट आवश्यक सहयोग र अधिकार प्राप्त हुन नसकेको बताए ।

रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा अपेक्षित आर्थिक प्रजातन्त्र स्थापित हुन नसकेको बताए । अन्तर्राष्ट्रिय राजनीतिक समस्याका कारण मूल्यवृद्धि बढेको र बजारमा अस्थिरता देखिएको उल्लेख गर्दै उनले सरकारले अपेक्षाअनुसार सेवा दिन नसकेको स्वीकार गरे । विगतमा देखिएका धेरै समस्या समाधानको प्रक्रियामा रहेको उनको भनाइ थियो ।

निजी क्षेत्रका प्रतिनिधिलाई सिधै पक्राउ नगर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएको उल्लेख गर्दै सांसद खरेलले सरकार र निजी क्षेत्रबीच सहकार्य तथा लगानीमैत्री वातावरण निर्माण आवश्यक रहेको बताए । सरकारका कमजोरी स्वीकार गर्दै सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रको विश्वास जित्न सके मात्रै लगानी र आर्थिक गतिविधि विस्तार हुने धारणा राखे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले स्थानीय तहले गर्न खोजेका काममा विभिन्न अवरोध रहेको बताइन् । वन स्रोतको उपयोग गर्न नपाइएको तथा बधशाला सञ्चालनसम्बन्धी विषय अदालतमा पुगेपछि संरचना प्रयोगविहीन भएर खण्डहर बन्न पुगेको उनले उल्लेख गरिन् ।

स्थानीय सरकारले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्न र कमजोरी देखिए सुधारका लागि सहयोग गर्न उद्योगी तथा सरोकारवालालाई आग्रह गर्दै उपप्रमुख अर्यालले आलोचनासँगै रचनात्मक सुझाव पनि आवश्यक रहेको बताइन् ।

साधारणसभामा सहभागी उद्योगीहरूले उद्योग व्यवसायको विकासका लागि सरकारका नीति व्यवहारमै उद्योगमैत्री हुनुपर्ने धारणा राखे । करसम्बन्धी जटिलता, जग्गाको अभाव, नीतिगत अन्योल र प्रशासनिक समस्याले लगानी प्रभावित भएको उल्लेख गर्दै उनीहरूले नीतिगत सुधार, सहज कर प्रणाली र औद्योगिक क्षेत्रको व्यवस्थित विकासमा जोड दिए ।

कार्यक्रममा उद्योगी मेघराज भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बेलहिया भन्सार कार्यालयका प्रमुख हरिहर पौडेल, संघका अध्यक्ष परिषद्का संयोजक तेजकुमार पाठक, संघका पूर्वअध्यक्ष तथा लुम्बिनी उद्योग परिसंघका लुम्बिनी अध्यक्ष एजाज आलम, राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीका अध्यक्ष महेन्द्र उपाध्याय, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे र श्रम संस्कृति पार्टीका अध्यक्ष छविलाल गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव सुमन बस्यालले गरेका थिए । वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष हरिबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

साधारणसभाले कोषाध्यक्ष विशाल बेल्वासेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र महासचिव सुमन बस्यालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा संघको आजीवन सदस्यता प्राप्त गर्ने तथा साधारणसभा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्योगीहरूलाई सम्मानसमेत गरिएको थियो ।

 

साधारणसभाले औद्योगिक विकासका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित उद्योग विस्तारका लागि जग्गाको व्यवस्था, कर प्रणालीमा सहजता र नीतिगत सुधारमा जोड दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?