© २०२३
बुटवल, १९ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धिका लागि अल्पकाली र दीर्घकालीन योजना बनाएर काम गर्ने जनाएका छन् ।
शनिबार बुटवलमा नेकपा एमाले रुपन्देही अर्घाखाँची सम्पर्क समाजले आयोजना गरेको सम्मान कार्यक्रममा उनले आफूले केही नयाँ योजना लिएर कामको थालनी गरेको जनाएका छन् ।
‘मैले सम्मानमा खादामाला रोक लगाएको छ, सचिवालयमा परिवारका कुनै पनि सदस्या राख्नेछैन, ५ लाखभन्दा बढीका योजनालाई अनिवार्य रुपमा प्रतिस्पर्धाबाट अगाडि बढाउने निर्णय नै गराएको छु’ उनले भने–‘भ्रष्टाचार न्युनीकरण गर्ने ५ वर्षको रणनीति बनाउने पहिलो निर्णयलाई कार्यान्वयन गर्ने पहिलो निर्णयलाई सधै प्राथमिकतामा राख्नेछु, यो मेरो सार्वजनिक प्रतिवद्धता हो ।’
मतदाता र आम प्रदेशवासीलाई आफूले गरेको प्रतिवद्धता नबिर्सने बताउँदै उनले भने–‘१३ वर्षअघि जटिल रोग लागेर मृत्युको नजिक पुगेको हुँ, सबैको शुभेच्छाले निको भएँ, मृत्युलाई समेत परास्त गरेर सबैको हौसलाले यहाँसम्म आएको अवस्था भएकोले पनि गलत गर्ने छुट छैन, मेरो पुनःजीवन भएकाले पनि केही नयाँ गरेर देखाउनु छ ।’
मुख्यमन्त्री आचार्यले यसअघि तीन पटक मन्त्रालयमा गरेको अनुभवले पनि काम गर्ने आधारभूत विषय बुझेकाले काम गर्न सहज हुने बताउँदै पार्टीको मूल्यांकनका आधारमा पाएको यो जिम्मेवारीबाट सिंगो प्रदेशको समृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
’म सबै मतदाता र प्रदेशवासीसमक्ष अनुरोध गर्न चाहन्छु, नियम मिचेर हुने काम म सँगबाट अपेक्षा नअर्गुहोला, यो मेरो प्रतिवद्वता हो,सके राम्रो गर्ने नसके बिगार्ने काम म बाट हुनेछैन’ उनले भने । उनले सरकारबाट बजेट पार्ने र उपभोक्ता समितिको नाममा खर्च गर्ने परिपाटीलाई हटाउन ५ लाखभन्दा माथिका योजना अनिवार्य प्रतिस्पर्धा गराउने काम दृणताका साथ अगाडि बढाउने बताए । ‘यो निर्णय कार्यान्वयनमा लैजान धेरै दवाव आए, माननीयदेखि ठेकेदारसम्मका दवाव आएपनि म मेरो निर्णयबाट दायाँबायाँ हुनेछैन’ मुख्यमन्त्री आचार्यले भने ।
आचार्यले केही दिनअघि रुपन्देहीमा आइसियु नभएको अस्पतालमा अपरेशन गर्दा बिरामीको मृत्यु भएको विषय गम्भीर भएकाले सरकारको तर्फबाट छानविन समिति गठन भएको र यसमा दोषीलाई कारबाही हुने बताउँदै यस्तो तरिकाले स्वास्थ्य सेवा संचालन गर्न पूर्णरुपमा रोक लगाउने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नयाँ आर्थिक वर्षको पहिलो महिनाबाटै सरकारले योजनावद्ध कार्यसम्पादनलाई अगाडि बढाउने बताए । उनले पार्टीले निर्णय गरेर दिएको जिम्मेवारी पूरा गर्ने हरेक सदस्यको दायित्व भएको बताउँदै त्यसमा साथ दिन कार्यकर्तालाई आग्रह गरे ।
सम्पर्क समाजका अध्यक्ष डबल बिसीले मुख्यमन्त्री आचार्यसहित अहिलेको सरकारसमक्ष ठूलो जिम्मेवारी आएकाले सबैले अपनत्व लिनेगरी अगाडि बढाउन आग्रह गरेका थिए । लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले प्रदेश सरकारको महत्वपूर्ण जिम्मेवारी पाएको समयमा उदाहरणीय काम गरेर देखाउँदै फजुल खर्च कटौती गरेर अगाडि बढ्न आग्रह गरे