© २०२३
बुटवल, १५ साउन ।
लुम्बिनी प्रदेशक मुख्यमन्त्री चेतनारायण आचार्यले एक सातासम्म पनि मन्त्रीहरुको कार्यविभाजन गर्न सकेका छैनन् । यही साउन ९ गते सपथग्रहण गरेका प्रदेशका मन्त्रीहरुको मन्त्रालय नतोकिंदा कामकाज समेत प्रभावित हुन थालेको छ ।
काँग्रेस र एमालेबिचको भागबण्डा नमिल्दा मन्त्रालय तोक्न मुख्यमन्त्री असफल भएका हुन् । अहिलेसम्म सपथग्रहण गरेका ८ जना मन्त्री बिनाविभागीय छन् ।
बिनाविभागीय हुँदा उनीहरु मन्त्रालय जान पाएका छैनन् भने निजी कामका लागि समय बिताइरहेका छन् । मुख्मन्त्री चेतनारायण आचार्यले एमाले र काँग्रेसबाट ४–४ जना सहभागी गराएर मन्त्रीपरिषद गठन गरेका थिए । काँग्रेसले आफ्नो भागमा परेको थप एकजना मन्त्रीको नाम भने अहिलेसम्म पनि दिन सकेको छैन ।
दुवै दलले महत्वपूर्ण र आकर्षक मन्त्रालयमा दावी गरेका कारण कार्यविभाजनमा ढिलाई भएको एक मन्त्रीले जानकारी दिए । नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयमा असन्तुष्टि छ । केन्द्रले सिधै हस्तक्षेप गरेर प्रदेशका मन्त्री नियुक्त गरेको भन्दै कांग्रेस प्रदेश समिति सभापति अमर पुनले विज्ञप्ती निकालेरै असन्तुष्टि जनाएका छन् ।
अर्थ मन्त्रालयमा एमाले र कांग्रेस दुवैले दाबी गरेका छन् । यस्तै सहरी विकास मन्त्रालयमा पनि दोहोरो दाबी देखिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले यहाँ साना दलहरूलाई सरकारमा सहभागी गराउने तयारी भए पनि मन्त्रालय भागबण्डा हुन बाँकी रहेकाले साना दलको बारेमा निर्णय गर्न ढिला भएको बताए । उनले नयाँ प्रदेश प्रमुख नियुक्त भएकाले उनको सपथग्रहण लगत्तै मन्त्रीहरुको कार्यविभाजन हुने बताए ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका सरोज थापाले कुन मन्त्रालय कसले पाउने भन्ने अझै टुङ्गो नभएको बताए ।
थापाले भने, ‘मन्त्रालय तोकिएको भए मन्त्रालयमा बसेर जनताको काम गर्न हुने थियो तर अहिलेसम्म तोकिएको छैन । छिटो गरिदिए हुने थियो ।’
एमालेबाट विनाविभागीय मन्त्री बनेका भूमिश्वर ढकालले साउन १६ गते यता मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सम्भावना कम रहेको जानकारी दिए । उनले मुख्यमन्त्री र नेपाली कांग्रेस संसदीय दलका नेता बसेर मन्त्रालयको भागबण्डा टुङ्ग्याउने सहमति भएको बताए ।
लुम्बिनीमा जनमत पार्टी, लोसपा, जसपा, नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान आतुर छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसको थप एक जना मन्त्री र साना दलबाट २ गरी अझै ३ जना मन्त्री बन्ने बताए । तर साना दलमध्ये कसलाई सरकारमा सामेल गर्ने भन्नेबारे प्रस्ट भइनसकेको उनको भनाइ छ ।
लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयले आफूहरू सरकार जाने करिब निश्चित भएको बताए । नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्म बहादुर चौधरीले पनि सरकार जाने विषयमा अनौपचारिक छलफल चलिरहेको बताए ।
यस्तै जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले लुम्बिनी प्रदेश सरकारमा जाने सोच बनाएको बताए । उनले संघ, मधेस र लुम्बिनी प्रदेशमा सरकारमा आफ्नो पार्टी सहभागी हुने खुलाए । अकोश राई नेतृत्वको जसपा पनि लुम्बिनी सरकारमा जान इच्छुक देखिएको छ ।