© २०२३
बुटवल, ७ साउन ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघि आचार्यले ५६ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्षा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका थिए । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
एमालेबाट संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आएर आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो । अर्घाखाँची १ (क) बाट निर्वाचित सांसद आचार्य यसअघि आर्थिक मामिला तथा योजनामन्त्री थिए ।
नेकपा माओवादी जोखबहादुर महराले आइतबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिए थिए ।