© २०२३
बर्दघाट, २९ असार ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था र बर्दघाट नगरपालिकाले सँयुक्त रुपमा सँचालन गरेको पानी परीक्षण प्रयोगशालाको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले आज विधिवत उद्घाटन गरेका छन् ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको कार्यालयमा रहेको प्रयोगशालामा बर्दघाट नगरपालिका भित्र सञ्चालनमा रहेका खानेपानी सँस्थाहरुले वितरण गर्ने पानीको निःशुल्क परीक्षण हुनेछ । विगत केही वर्षदेखि बर्दघाट खानेपानी सँस्थाले आफ्नै ब्यवस्थापन र खर्चमा केही किसिमका पानी (पारामिटर) परीक्षण गर्दै आएपनि हाल नगरपालिकाले सहयोग गरेका उपकरण र जनशक्ति सहित थप पारामिटरमा पानी परीक्षण सुरु गरिएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले नगरबासीलाई शुद्ध र सुरक्षित पिउने पानी उपलब्ध गराउन प्रयोगशाला सँचालनमा सहयोग गरेको र परिक्षण नतिजाको आधारमा पानी वितरण गर्नु खानेपानी सँस्थाको दायित्व समेत रहेको बताए । शुद्ध र सुरक्षित पिउने पानी उपभोग गर्न पाउने नगरबासी सबैको नैसर्गिक अधिकार भएको र सबैमा शुद्ध पिउने पानीको पहँुचका लागि नगरले बजेट विनियोजन गरी आयोजनाहरु अघि बढाएको समेत उनले बताए ।
बर्दघाट खानेपानी सँस्थाका अध्यक्ष दिपक लम्सालले जसरी बर्दघाट खानेपानी सँस्थाले एकघर एकधाराको अवधारणा अघि सारी सबैको पहुँचमा शुद्ध पिउने पानी उपलब्ध गराएको छ तेसैगरी नगरभित्रका सबैको पहुँचमा पानी पुग्नुपर्ने र शुद्धताको लागि प्रयोगशाला परिक्षण आवश्यक भएकै कारण प्रयोगशाला सँचालनमा ल्याइएको बताए । कार्यक्रममा सँस्थाका उपाध्यक्ष कमल थापा, पन्चनगर खानेपानी सँस्थाका अध्यक्ष कर्ण बहादुर खत्री, जिल्ला खानेपानी उपभोक्ता महासँघका अध्यक्ष देविदत्त सापकोटा, सल्लाहकार रविन्द्र हमाल, वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । बर्दघाट नगरपालिका अन्तर्गत हाल ९ वटा खानेपानी आयोजनाहरु सम्पन्न भइ सन्चालनमा रहेका छन ।