© २०२३
नेपालभरी अहिले धमाधम रोपाई चलिरहेको छ । यही बेला किसानलाई भार पर्नेगरि नेपाल आयल निगमले पेट्रोलियमको मूल्य बढाएको छ । निगमले भाउ बढाउने वित्तिकै ट्याक्टर व्यवसायीले मूल्य बढाएका छन । के निहुँ पाउँ कनिका बुकाउँ भनेजस्तै निगमले मूल्य घटाउँदा नघटाउने तर बढाएको समाचार सार्वजनिक नहुँदै भाउ बढाउने ट्याक्टर व्यवसायीले किसानमाथि शोषण गरिरहेका छन् । वास्तवमा जनतामाथि सवैतिरबाट आक्रमण भैरहेको छ । चाहे त्यो आयल निगमले उपभोक्ताको ढाड सेकेर होस वा व्यवसायीले खेत जोतेको मूल्य बढाएर होस् । उच्च नाफा कमाउनु कुनैपनि मानेमा न्यायसंग हुन सक्दैन । तसर्थ आयल निगमले अव तत्काल पेट्रोलियम मूल्यमा समायोजन गर्नुपर्दछ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटिरहेको छ तर नेपालमा बढिरहेको छ । आयल निगमले आईओसीलाई ऋण चुक्ता गर्ने नाममा विगतदेखि नै पेट्रोलियमको मूल्य बढाउँदै आएको छ । तर, अहिले आईओसीलाई कुनैपनि बक्यौता तिर्न बाँकी छैन । प्रधानमन्त्री प्रचण्डले उपभोक्तालाई राहत दिने भन्दै प्रधानमन्त्रीको सपथ लिएसंगै तेलको मूल्य केही घटाउन आयल निगमलाई निर्देशन दिनुभएको थियो । अव फेरी बेला आएको छ– प्रधानमन्त्रीले नेपाली उपभोक्तालाई राहत दिने हो भने निगमलाई मूल्य घटाउन निर्देशन दिनुपर्दछ । प्रधानमन्त्रीको बोली र व्यवहारमा धेरै फरक देखिएको छ । यो कुनैपनि मानेमा न्यायसंगत हुन सक्दैन् ।
यसअघि पनि आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनमा उपभोक्तालाई पटकपटक झुक्याउँदै आएको छ । सरकारी स्वामित्वको निगमले नै उचित व्यावसायिक अभ्यास नगरेपछि उपभोक्ताले निजी क्षेत्रबाट के अपेक्षा गर्ने ? त्यसो त नेपाली जनताले समेत सार्वजनिक चासोको बिषयमा आवाज नउठाउँदा आयल निगमको एकाधिकार छ । निगमले जे गरेपनि छुट छ । पहिले विद्यार्र्थीहरूले आवाज उठाएर परम्परा धानीरहेका थिए तर अहिले विद्यार्थीहरू समेत चुप छन । आयल निगमले अहिले धेरै नाफा कमाउने अवस्था छ । यही बेला नाफा थोरै राखेर उपभोक्तालाई धेरै राहत दिनेगरि पेट्रोलियमको मूल्य घटाउनेतर्फ पहल होस् । खासगरी उपभोक्ताले यो बिषयमा अब चासो लिनुपर्ने आवश्यकता छ । असारको रोपाई चलिरहेको बेला किसानलाई थप भार थोपर्ने गरि आयल निगमले गरेको मूल्यबृद्धि कुनैपनि अवस्थामा स्वीकार्य छैन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि मूल्य बढाउने निगमको प्रवृत्ति रहस्यमय छ । ऋण तिर्ने नाममा निगमले जनताको ढाड सेक्ने काममात्रै गरेको छ । भाउ बढेका बेला आयल निगमले पनि बढाएकै छ । तर, घटाउँदा उपभोक्तालाई थोरै राहत दिने सवालमा निगमको मनपरी गर्ने गरिएको छ । सरकारी भएपनि नेपाल आयल निगमले ब्यापारीक संस्थाको झल्को दिन्छ । निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाए सरकारले घटाउन निर्देशन दिएरपनि किसानलाई मूल्यबृद्धिको मारबाट जोगाउनुपर्छ । रोपाईकै बेला मूल्य बढाउने आयल निगमको नियत सही कदापि होईन । तत्कालै मूल्य बढाउनुपर्ने अवस्था किमार्थ होइन । तसर्थ सरकारको तर्फबाटै उपभोक्तालाई राहत दिन पेट्रोलियमको बढेको भाउ फिर्ता गर ।