© २०२३
दाङ, १६ असार ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले कानूनको क्षेत्रमा धेरै सम्भावना रहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको मेट्रो कलेजमा कानून अध्ययनरत विद्यार्थीसंगको अन्तरकृयामा उनले कानूनका विद्यार्थीहरुले समाजलाई पनि कानूनी हिसाबले सुसूचित पार्नुपर्ने कुरामा जोड दिए । उनले संघीयताको कार्यान्वयन सँगै देशैभर कानूनको जनशक्ति आवश्यक परेको बताए । कतिपय सरकारी क्षेत्रमा कानूनको अभावमा काम गर्न नसकेको समेत बताए । ‘कानून बिना केही पनि काम गर्न सकिदैन, सरकारले गर्ने कामको मुल आधार भनेको कानून नै हो’ मन्त्री खत्रीले भने ।
कानुन संकायका विद्यार्थीहरुलाई उत्प्रेरित गर्दै मन्त्री खत्रीले नेपालमा केही पनि भएन, केही राम्रो छैन भन्ने खालको भाष्य निर्माण हुँदै जानु दुखद भएको बताए । ‘हामीले नेपालमै केही गरेका व्यक्तिहरुलाई उत्प्रेरक मान्न छाडेका छौ, विदेश जानेलाई मात्रै हामीले पछ्याउने कुराले विदेश नै जानुपर्ने वाध्यता बनाइरहेको छ ’मन्त्री खत्रीले भने । तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताउँदै मन्त्री खत्रीले यसलाई प्रदेश सरकारले नमुना कलेजका रुपमा स्थापना गर्ने समेत बताए ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले सबैको पहुँचमा प्राविधिक शिक्षा पुरयाउनका लागि स्थानीय सरकारको पहलकदमीमा कलेज स्थापना गरिएको पनि बताए । उनले कलेजले विभिन्न खालका प्राविधिक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको पनि जानकारी दिए । विद्यार्थीहरुले विभिन्न कानुन सम्बद्ध विषयका साथै प्रदेश सरकारका काम कर्तव्य र अधिकारका बारेमा छलफल गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका प्राचार्य वसन्त आचार्यले गरेका थिए ।
‘