© २०२३
बुटवल,१२ असार । भारी वर्षाका कारण बुटवलको रानीगन्जमा डुबान भएपछि स्थानीयले पानी व्यवस्थापन हुने निकास माग गर्दै वडा नं १७ का वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् । सडक र नाली निर्माणका क्रममा पानीको निकास नहुने गरी काम भएको कारण डुबान भएको हो । डुबानका कारण थुप्रै घरहरु प्रभावित हुने भन्दै स्थानीय सरकारलाई दवाव दिन तालाबन्दी गरिएको स्थानीय युवा अगुवा गणेश दाहालले बताए । पानीको निकास हुने सुनिश्चित नभएसम्म तालाबन्दी नखोलिने स्थानीयको माग रहेको दाहालले बताए ।
डुबानको जोखिम रहेको भन्दै स्थानीयले फागुनतिरै वडा कार्यालयलाई जानकारी गराएको भएपनि बेवास्ता गरेको अर्का स्थानीय विजय ढकालले बताए । वडाका जनप्रतिनिधिहरु स्थानीयका समस्या समाधानमा गम्भीर भएर छिटो छरितो समस्या समाधानमा कहिल्यै नलाग्ने र समस्या विकराल भएपछि मात्रै तात्ने प्रवृत्तिले वडावासीले दुख पाउने गरेको ढकालले गुनासो गरे । आज बिहान लगातार ४ घन्टा परेको पानीले रानिगन्ज क्षेत्र मा पानी जम्मा भई डुबान भएको थियो । सो क्षेत्रमा योगिकुटि मगरघाट अन्तर्गतको सडकमा नाली सहित पिच निर्माण भएको छ तर पानी बग्ने निकास तिनाउ खोलामा पुग्नु पर्नेमा सो क्षेत्र मा २ वटा घर को बिबादको कारण निकास नभएकोले जनशक्ति तथा नयाँ बुटवल टोलको केहि घरमा समेत पानी पस्न पुगेको छ ।