© २०२३
बुटवल, ६ असार ।
बैंक तथा वित्तीय संंस्थाका ऋणिहरुले बुधबार बुटवलमा बिरोध प्रदर्शन गरेका छन् । “बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति रूपन्देही” को आयोजनामा बुधबार दिउँसो १ बजे बुटवलको राजमार्ग चौराहबाट सुरु भएको बिरोध जुलुस मिलनचोक, बसपार्क, अस्पताल लाईन हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो ।
प्रदर्शनकारीहरूले बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गर, बैंक तथा वित्तीय संस्थाका दलाल होसियार, कोरोनाकालको ब्याज मिनाहा गर जस्ता नारा लगाएका थिए । टन्टलापुरे घामको प्रवाह नगरी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरु प्रदर्शनमा उत्रिएका हुन् ।
जुलुसपछि आयोजित सभामा नेकपा रूपन्देहीका सेक्रेटरी बिरेन्द्र बिकले संसदीय व्यवस्थाकै कारण आज वैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका ऋणिहरुको घर जग्गा लिलाम हुदै आईरहेको भन्दै आफ्नो पार्टीले आन्दोलनलाई साथ र सहयोग गर्ने प्रतिवद्वता जनाए ।
“बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति” का केन्द्रीय अध्यक्ष समेत रहेका जिल्ला अध्यक्ष दुर्गाप्रसाद पोखरेलले आफुहरूले लिएको ऋण तिर्छौ भन्दा भन्दै पनि बैंक तथा बित्तीय संस्थाहरूले ऋणिहरूमाथि ज्यादती गरेको बताए ।
बैक तथा बित्तीय संस्थाहरूले कोरोना कालको व्याज मिनाह गर्नु त परै जाओस् घरवार नै लिलाम गरिरहेको भन्दै उनले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।
राज्यले आफुहरुबाट विभिन्न नाममा कर लिने काम मात्र गरेको आरोप लगाउदै यो राज्य वैंक तथा वित्तीय संस्था पीडितको पक्षमा नरहेको आरोप लगाए ।
कार्यक्रममा अभियन्ता विज्ञान सि, जया सी, महेन्द्र शाही, बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति रामग्राम नगर समिति नवलपरासीका अध्यक्ष अशोक कुमार गुप्ता, परासीकै प्रतापपुर अध्यक्ष कन्हैयालाल कसौधनलगायतले बैंक तथा वित्तीय संस्थाहरूको ज्यादती बन्द गर्नुपर्ने भन्दै नरोकिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति रूपन्देहीका सचिव बिशाल पौडेलले माग पुरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउन बाध्य हुने बताए ।