© २०२३
पाल्पा ।
वुटवल —तानसेन सडक खण्ड अन्तर्गत बर्तुङ लामडाँडा खण्ड ५ वर्ष अगाडि स्थानीय सरकारले चौडा ग¥यो । नगर सरकारले चौडा गरेको सडक डिभिजन सडक कार्यालयले कालोपत्रे गर्नु पर्ने हो, तर निर्माण व्यवसायी, सरोकारवाला निकायका कारण कालोपत्रेको कार्य कछुवाको गतिमा अगाडि बढेको छ ।
उत्तर दक्षिण जोड्ने एक मात्र राजमार्गमा कालोपत्रे गर्न ढिलाई हुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकमा बढ्दो सवारी चाप भएका कारण सडक बिस्तार हुनु आजको आवश्यकता हो र राजमार्गको काममा ढिलासुस्ती हुनु अत्यन्तै लज्जास्पद भएको स्थानीय खिम बहादुर थापा बताउँछन् ।
यस खण्डमा कालोपत्रे गर्ने काम संगै टेवा पर्खालको निर्माण हो । तीन स्थानमा सडक स्तरोन्नतीका लागि झण्डै ४ करोडमा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा बताउछन् । ठेक्का सझौता सत्यवती कन्स्ट्रक्सनले गरेको हो । निर्माण व्यावसायीको ढिलाईका कारण कामले गति लिन नसकेको प्रमुख सापकोटा बताउँछन् ।
डेढ किलोमिटर सडक कालोपत्रे गर्नका लागि तयार गरिएको पुर्वाधार नै दुर्घटनाको मुख्य कारक तत्व भएको सवारी चालक सुनिल थापा बताउँछन् । निर्माण व्यावसायीलाई काम लगाउने जिम्मेबारी सडक कार्यालयको हो । निर्माण व्यवसायीले काम गरेन भनेर सडक कार्यालय पन्छिने काम मात्र गरेको उनले बताए ।
८० प्रतिशत कार्य प्रगति भएको बताउने सडक कार्यालयले वर्षायमको पुर्वसन्ध्यामा कालोपत्रे गर्न लागेको छ । सडकमा सव वेस राखेर रेलिङको काम गरेको छ । वेस राख्ने समयमा मौसमी वर्षा हुन्छ अनि सडकमा खाल्डा खुल्डी पर्न लाग्दछ । यसले सवारी दुर्घटनालाई सहयोग पुग्ने स्थानीय हरिश रन्जन बताउँछन् ।