© २०२३
आकाश सुवेदी
गुल्मी, १० वैशाख ।
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाम अमराईका २१ वर्षीय सुनिल सोमरेको उपचार गराउँदा नै सवै सम्पत्ति सकिएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ । सुनिलको २०७५ सालमै दुवै मृगौला फेल भएपछि सोमरे परिवारले सवै सम्पत्ति उनको उपचारमा खर्च गरिसकेको छ ।
सवै सम्पत्ति सकिँदा पनि सुनिल अझै सञ्चो भएका छैनन् । जसका कारण उनको परिवारले आर्थिक सहयोग गरिदिन सवैसंग अनुरोध गरेको छ । आदर्श मावि दिगाममा कक्षा ८ मा पढ्दै गर्दा उनमा मृगौलाको समस्या देखिएको थियो । सोमरे परिवारको आशाको किरण रहेको सुनिल मृगौला रोगका कारण अस्पतालमा उपचारार्थ छन तर पैसाको अभावमा उनको उपचारमा समस्या भएको छ ।
सुनिलका बुबा हरिबहादुर सोमरेले छोरालाई पढाएर ठूलो मानिस बनाउने सपना बुनेका थिए तर सुनिलमा एक्कासी मृगौलाको समस्या देखिएपछि सोमरे परिवार छाँगाबाट खसेजस्तै भएको छ ।
स्थानीय फर्निचर उद्योगका काम गर्दै आएका सुनिलका बुबा हरिबहादुरले सुनिलको उपचारमा अहिलेसम्म १०–१२ लाख खर्च गरिसक्दा पनि सुधार नभएपछि चिन्तित बनेका छन । पैसा हुञ्जेल काठमाण्डौं लगेर उपचार गराएपनि अहिले पैसाको अभावमा सुनिलको उपचार पनि प्रभावित भएको छ ।
सुनिलका बुबा हरिबहादुर भन्छन्– “भएको सवै पैसा सकियो, छोराको स्वास्थ्यमा सुधार आएको छैन, अहिले सकिनसकी गुल्मी अस्पतालमा डायलासिस गराईरहेका छौं ।”
डायलासिस गराउन पैसा नलागेपनि हप्तामा दुई दिन तम्घास अस्पताल आउन जान यातायात खर्च समेत निकाल्न सक्नै अवस्था नरहेको सुनिलका हरिबहादुरको गुनासो छ ।
हरिवहादुरको सपना थियो– एकदिन छोरालाई पढाएर ठूलो मान्छे बनाउने । तर उनको सपना बिपना बन्न सकेन । उल्टो छोराको उपचार गर्दा गर्दै सवै सम्पत्ति सकिँदा पनि छोरालाई बचाउन नसकिने हो कि भन्ने चिन्ता उनमा छ ।
मृगौला जस्तो ठूलो रोग लागेको अवस्थामा सरकारले निशुल्क उपचारको व्यवस्था गरिदिएको भए आज हरिबहादुर सोमरेको परिवारले आर्थिक अभावमा छटपटिनु पर्ने थिएन । हरिबहादुर भन्छन–गरिव भएकै कारण उपचार नपाएर कसैको ज्यान जाने अवस्था नहोस् । सरकारले गरिव परिवारलाई हेर्नुपर्ने सोमरे परिवारको भनाई छ । आर्थिक अवस्था कमजोर भएकोले सोमरे परिवारले सवैसंग आर्थिक सहयोगको अपिल गरेको छ ।
बीर अस्पतालले समेत सुनिलको हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र उनको आर्थिक अवस्था नाजुक भएकोले सहयोग गरिदिन सवैसंग अनुरोध सहितको पत्र लेखिदिएको छ । हरिवहादुरले आफ्नो शाईन रेसुङ्गा डेभलपमेन्ट खाता नम्बर ०१२००७००५६३७६००००००१ मा पैसा पठाएर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।