© २०२३
कपिलवस्तु, ११ वैशाख
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर १ पकडीका ३८ आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । पुर्वमन्त्री तथा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का साँसद सुरेन्द्रराज आचार्यको पहलमा सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतले पीडित परिवारलाई राहत वितरण गरेको हो । राहत वितरणको स्थानीयस्तरको समन्वय यशोधरा गाउँपालिका र पिस नेपालले गरेका थिए । एक कार्यक्रममा बिच पुर्वमन्त्री आचार्य, लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेय, यशोधरा गाउँपालिकाका पुर्व अध्यक्ष गिरजेश कुमार पाण्डेय, सेभ द चिल्ड्रेनकी परियोजना संयोजक फुल कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष अब्दुल कय्युम खान, पुर्व वडा अध्यक्ष शिवपुजन पासी, काँग्रेस जिल्ला सदस्य ओम प्रकाश गुप्ता लगायतले पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरे ।
पीडितलाई हस्तान्तरण गरिएको राहत सामग्रीमा सबै ३८ आगलागी पीडित परिवारका लागि (सेल्टर किट) टेन्टको सामग्री, भाँडाकँुडा सेट, खानेपानी फिल्टर, सरसफाई किट, मच्छरीदानी सहितका सामग्री वितरण गरिएको थियो । त्यसैगरी तिनै पीडित परिवारका माध्यमिक तहका १६ जना र आधारभुत तहका ५६ जना गरी ७२ स्कुले विद्यार्थीका झोला, स्टेशनरी, कापी, कलम लगायतका सामग्री ती परिवारलाई दिईएको थियो । कार्यक्रममा २ वर्षमुनी १० जना नाबालक र ३ देखि ५ बर्ष सम्मका १५ जना बालबालिका गरी २५ बालबालिकाका लागि स्याहार गर्न न्यानो कपडा (वेबी किट), २ बर्ष मुनीका बालबालिका रहेका सुत्केरी अवस्था मध्येका र गर्भवती अवस्थाका १० महिलालाई डिगनिटी किट सहितका सामग्री हस्तान्तरण गरेर उनीहरुको सरसफाईलाई सुरक्षित बनाउन टेवा पुर्याईएको थियो ।
साँसद आचार्यले पहलकदमी लिएर आफ्नो वडाका आगलागी पीडितलाई तत्कालीन अवस्थामा राहत जुटाउन सहयोग गर्न प्रशंसनीय विषय भएको वडा नम्बर १ का अध्यक्ष अब्दुल कय्युम खानले बताए । आगलागी पीडित परिवारका लागि छोटो समयमै राहत सहयोग जुटाउन साँसद आचार्यले भूमिका खेलेको बताउँदै आगामी दिनमा थप सहयोग जुटाउन आफुहरु सबै तत्पर रहने यशोधरा गाउँपालिकाका पुर्व अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताए ।
आगलागीका कारण भएको ठुलो क्षतिका बेला आफुहरुले पहल गरेर पीडितका लागि राहत सहयोग जुटाएको र अन्य निकायबाट पनि सहयोगको आवश्यकता रहेको लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले बताए । आगलागीका कारण प्रभावित भएका नागरिक र महिला बालबालिकालाई तत्कालीन अवस्थामा राहत पुगोस् भनेर पालिकाको सिफारिसमा राहत सामग्री वितरण गरिएको सेभ द चिल्ड्रेन फिल्ड कार्यालय सुर्खेतकी परियोजना संयोजक फुल कुमारी चौधरीले जानकारी दिईन् । आगलागीका कारण समस्यामा परेका यस क्षेत्रका नागरिकलाई तत्काल राहतका लागि आफुले पहल गरेको र अन्य निकायबाट समेत राहत जुटाउन तत्पर रहने कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का साँसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले प्रतिवद्धता जनाए । वैशाख ७ गते गहुँको डाठमा लागेको आगो तीव्र हावाहुरीका कारण गाउँ सम्म पुग्दा वडाको पकडीका ३८ घर जलेर क्षति पुगेको थियो ।