© २०२३
तिलोत्तमा, २१ चैत ।
तिलोत्तमा व्यापार संघले नयाँ वर्ष २०८१ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संघको सचिवालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले भित्तेपात्रोको विमोचन गरेका थिए । त्यस अवसरमा बोल्दै पोखरेलले नयाँ वर्षको आगमनसँगै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने र व्यवसायीमाथि आइपरेका कठिनाईहरु अन्त्य हुन सकोस् भनी शुभकामना दिए । उनले आगामी दिनमा व्यवसायीहरुको हक हितका साथै सामाजिक क्षेत्रमा समेत तिलोत्तमा व्यापार संघले आफ्ना गतिविधिहरुलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
संघका संस्थापक अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेलले संस्थाको आर्थिक सवलीकरणमा जोड दिंदै संस्थाले लिएका उद्देश्य, लक्ष्य र कार्ययोजनालाई सार्थक बनाउन आग्रह गरे । उनले संघको सचिवालय भवन निर्माणका लागि तिलोत्तमा नगरपालिकाले अहिलेसम्म सहयोग नगरेको भन्दै अवका दिनमा सार्थक ढंगले यसलाई अगाडि बढाउनुपर्ने बताए ।
संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले तिलोत्तमा व्यापार संघलाई थप सवल र गतिशिल संस्थाको रुपमा स्थापित गर्न वर्तमान नेतृत्व लागिपरेको बताए ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारद्वय लक्ष्मण पौडेल, हरिप्रसाद कंडेल, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख टेकराज भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, महासचिव चेतनारायण विश्वकर्मा (विष्णु) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघले आफ्नो कार्ययोजना अनुसार शुभकामना आदानप्रदान कार्यक्रम गरेको कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी दिए ।