© २०२३
बुटवल, ५ चैत । बुटवलको राजमार्ग चौराहामा रहेको सुप्रीम बहुउद्देश्य सहकारी संस्थाले बचतकर्ताको करोडौं रूपैयाँ उठाएर फरार भएको बिषयमा इलाका प्रहरी कार्यालय बुटवलले अध्यक्ष सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । सहकारी सञ्चालकहरूले बचतकर्ताहरूको करोडांै रूपैयाँ हिनामिना गरेको भन्दै सहकारी पीडितहरूले इलाका प्रहरी कार्यालय बुटवलमा सुप्रीम सहकारीका सञ्चालकहरूबाट आफूहरू ठगीएको भन्दै उजुरी गरेपछि बुटवल प्रहरीले सहकारीका सञ्चालकहरूको खोजतलास सुरु गरेको थियो । प्रहरीमा आफूहरू बिरुद्ध उजुरी परेको थाहा पाएपछि लुक्दै छिप्दै आएका सुप्रीम बहुउद्देश्य सहकारी बुटवलका अध्यक्ष ओम गुरुङ भैरहवा शाखाकी ब्यवस्थापक दुर्गा पान्डे चापागाईलाई केही समय अगाडि नै प्रहरीले समाउन सफल भएको थियो । पोखरामा लुक्दै आएका सचिव कुमार रम्तेल लेखा संयोजक भबिश्वर अर्याललाई कास्की प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर बुटवल ल्याईएको प्रहरीले जनाएको छ । पूर्व कोषाध्यक्ष तथा सचिव रहेका दिपेश पुनलाई भने काठमाडौं प्रहरीले पक्राउ गरी बुटवल प्रहरीलाई जिम्मा लगाएको हो ।
केही महिनादेखि सहकारीमा पैसा माग्न आउने बचतकर्ताहरूको भिड लाग्न थालेपछि सञ्चालकहरू फरार भएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले सुप्रीम सहकारीका अध्यक्ष सहित ५ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको बताए । सुप्रीम सहकारीमा आफूले जम्मा गरेको रकम निकाल्न नपाएको बिषयमा प्रहरीमा उजुरी परेको भन्दै सोही बिषयमा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ प्रमुखले भने–‘उजुरी गर्नेको संख्या हालसम्म १७ सय ३० पुगेको छ । सहकारी बिरुद्ध उजुरी आउने क्रम जारी रहेको भन्दै हालसम्म ८३ करोड बढी रकम बचतकर्ताको रहेको उजुरीमा देखिएको प्रमुख पण्डितले बताए । पक्राउ परेका उनीहरू बिरुद्ध संगठीत अपराध अन्तर्गत मुद्दा दायर गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ । बुटवलमा रहेको सुप्रीम सहकारीमा कुल पँुजि १ अर्ब ७ करोड रहेकोमा ऋण लगानी १ अर्ब २ करोड रहेको देखिएको प्रहरीले जनाएको छ ।