© २०२३
नेपालगञ्ज, २८ फागुन । जिल्ला प्रहरी बाँकेले नेपालगञ्जमा डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको छ ।
प्रहरीले नेपालगञ्जमा आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपैयाँ र १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
आज नेपालगन्जका दुई वटा होटेलमा छापा मार्दा करिब सवा १ करोड रुपैयाँ बरामद गरेको छ। प्रहरीले नेपालगन्ज बसपार्कका दुई होटेलमा छापा मार्दा श्रोत नखुलेको १ करोड १५ लाख रुपैयाँसहित प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट नगद रकमसहित बैंकका विभिन्न भौचरहरू समेत बरामद गरेको छ ।
आइतबार बाँके प्रहरीले तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेपछि उनीहरुको बयानका आधारमा गरिएको अपरेशनमा आज नेपालगन्ज–४ बसपार्कमा रहेको होटेल सन्तोष दंगालीमा बसेका ३५ वर्षीय रोहीत क्षेत्री, दाङकै ४३ वर्षीय कृष्ण बिक र भारत घर भएका राहुल जैसवाल र बसपार्ककै अर्को कालिका होटेलमा छापा मार्दा नेपालगन्ज–१६ जयसपुरका ५० वर्षीय सलिम जोलाह र सोही स्थानकै २५ वर्षीय आसिफ अन्सारीलाई करोडौं रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट १ करोड १५ लाख नेपाली रुपैयाँ बरामद भएको डिएसपी डाँगीले बताए । जिल्ला प्रहरी बाँकेले आइतबार ३८ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेपछि हुण्डी कारोबारको अखडामा अपरेसन गरेको बताइएको छ।
प्रहरीले आइतबार दिउँसो नेपालगन्जको धम्बोझी चोकको सांग्रीला बैंक नजिकबाट अवैध ३८ लाख रुपैयाँसहित राजापुर–१ बर्दियाका २० वर्षीय अनुप थारु र बर्दियाकै पुर्णिामा थारु र नेपालगन्ज–१६ जयसपुरका हसिब अजमत जसगढलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।आज बरामद भएको करोडौं रुपैयाँ भारतमा भएको सुन कारोबारको हुण्डी रकम हुनसक्ने प्रहरीको आशंका छ । डिएसपी डाँगीले भने ’यति धेरै रकम कहाँ बाट के प्रायोजनको लागि ल्याईएको हो भन्ने बारे हाम्रो अनुसन्धान जारी जारी छ , अझै स्रोत खुलेको छैन ।’