© २०२३
‘रात रहे अग्राख पलाए’ नेपाली उखान अहिलेको नेपालको बिद्यमान राजनीतिक उलटपुलटसंग मिलेको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन भन्ने पनि पछिल्लो दुई दिनको घटनाक्रमले स्पष्ट गरेको छ । राजनीति शास्त्रको यो सिद्धान्त नेपालका राजनीतिमा संयोगमात्र होइन यथार्थ वनेको छ । प्रधानमन्त्री प्रचण्डको हरेक पटकको कुटनीति सत्ताकेन्द्रित रहेको यी घटनाक्रमले पुष्टी गर्दै पनि आएका छन । निश्चितरूपमा नेपालको राजनीति प्रचण्डकै वरिपरी घुमिरहेको छ । अर्थात ३२ सिटको माओवादीले देश नचाईरहेको छ । कहिले कांग्रेससंग मिलेर गठबन्धन अनि कहिले एमालेसंग मिलेर गठबन्धन गर्दै सत्तामा टिकिरहने दाउमा प्रचण्ड सफल भएका छन् । यद्यपि यो गठबन्धन पनि कति दिन टिक्ने भन्ने कुराको कुनै निश्चितता छैन । किनभने प्रचण्डको खेलमा भोली गज्जबको गोटी कांग्रेस हुने भयो भने अहिलेजस्तै रातारात अग्राख पलाउन सक्छ । प्रचण्डको खेलमा एमाले र कांग्रेस नाचिरहेका छन । प्रचण्डले देशलाई नचाईरहेका छन । पटकपटक भैरहेको सत्ताको उलटपुलटमा नेपाली जनताको आशा र अपेक्षामाथि तुषारापात हुने अवस्था छ । नेपाली जनताको सपना पूरा हुने अवस्था छैन । शहिदले देखाएको बाटो हिँडने काममा अलमल गरिएको छ । सत्ताको अगाडी जनताको आशा र अपेक्षा धुमिल परिरहेको छ । अहिले नयाँ गठबन्धन निर्माण भएको छ ।
यो गठबन्धनले अव बाँकी रहेको चार बर्ष देशको शासन गरोस् । प्रचण्डको स्वार्थमा गठबन्धन बनाउने र भत्काउने काम कम्तिमा अवचाहिँ नहोस् । त्यसो त नेपालमा धेरै सरकार बने, नयाँ सरकारबाट जनताले त्यही आशा र अपेक्षा गरे तर जनताका आशा र अपेक्षामाथि बिश्वासघात भएको छ । २०४६ सालयता बनेका कुनैपनि सरकारले जनताको अपेक्षा पूरा गर्न सकेनन् । बरु जनतामाथि सरकारबाटै दोहनको काम भएको छ । नेपाली जनताकै त्याग र बलिदानबाट मुलुक यहाँसम्म आइपुगेको अवस्थामा सरकारसँग यति आशा गर्नु कुनै ठूलो अपेक्षा होइन । जनताका अपेक्षा पूरा गर्ने सन्दर्भमा सरकार सधै छायाँमा पर्दै आएको छ । अहिलेको सरकार यस्तो विन्दुमा उभिएको छ, जहाँ समस्या र कठिनाइ पर्दा समाउने कुनै हाँगो छैन । भएका केही हाँगाहरूमा काँडैकाँडा छन् । किनभने मन्त्रिपरिषद पुनर्गठन भएको दुई दिन नहुँदै शक्तिशाली मन्त्रालय लिने रस्साकस्सी चलिरहेको छ ।
नेपाली जनताले यति लामो संघर्ष गरेर हासिल गरेको ब्यवस्थाबाट सन्तुष्टी हुने अवस्था देखिएन । नेताहरू देशको विकास र परिवर्तन भन्दा पनि कुर्सीको लागि र आफ्नो स्वार्थ पूरा गर्नैको लागि रहेछन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । जनताको रोजीरोटीको बिषय समाधान भएको छैन । शिक्षा, स्वास्थ्य, शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना भएकै छैन । दिनको दुई हजार बढी युवा खाडी मुलुकमा पलायन भैरहेका छन । संघीय स्वरूपको राजनीतिक प्रणाली स्थापना भएपनि आम नागरिकको शान्ति, सुशासन र विकासको सपना केवल सपना मात्रै हुने हो कि भन्ने चिन्ता छ । फेरीपनि नेताहरू कुर्सी दौडमा लिप्त हुँदा जनताका आशा र अभिलाषा विर्सदै गएका छन । पछिल्लो सत्तापलटले जनताको आशालाई निरासामा परिणत गर्ने काम नहोस् । जनताले विश्वास गरेर पठाएका जनप्रतिनिधिहरूले जनताको विश्वास तोड्ने काम नगरुन् ।