© २०२३
बुटवल, २२ माघ । कञ्चनका किसान नन्दलाल लोध संगम कृषक आलु उत्पादक समूहका अध्यक्ष हुन । उनको समूहले २ विघा क्षेत्रफलमा आलु खेती गर्दै आएको छ । उत्पादन भएको आलुलाई उनीहरूले सिजनमा कम मूल्य पाउने भएको कारण कोल्डस्टोरमा राख्दै आएको छ । अहिले आलु उत्पादनको सिजन भएको कारण आलुको मूल्य कम छ । यसरी किसानले आलु उत्पादन गरेको आलुलाई कोल्डस्टोरमा राखेर बेमौसममा बजारीकरण गर्दा किसानले आधा भन्दा बढि नाफा गर्दैै आएका छन् ।
समूहका अध्यक्ष लोधका अनुसार किसानले उत्पादन गरेको आलु जम्मा गरेर भैरहवामा रहेको कोल्डस्टोरमा राख्दै आएका छन् । जसबाट पालिकाले उनीहरूलाई प्रति बेरामा १०० देखि २०० रूपैयाँ पाउदै आएका छन् । किसानले आलु राख्दा पालीकाले अनुदान दिँदै आएको हो । अधिकांस किसानलाई उत्पादनमा अनुदान दिने गरिन्छ । कतिपय किसानले उत्पादनको लागि अनुदान लिने पछि उत्पादन नै नगर्ने परिपाटी समेत रहेको छ । किसानलाई उत्पादनमा अनुदान भन्दा पनि उत्पादन पछिको भण्डारणको लागि रूपन्देहीको कञ्चन गाउँपालिकाले अनुदानको कार्यक्रम सुरुवात गरेको छ । खासगरी किसानले मौसममा उत्पादन गरेका कृषि जन्य उपजको कोल्डस्टोेरमा भण्डारण गरी राखेमा भण्डारण गृहमा राखे अनुसार ५० प्रतिशत अनुदान समेत उपलब्ध गराउँदै आएको हो ।
कञ्चन गाउँपालिकामा अधिकांस स्थानमा तरकारी खेती हुदै आएको छ । जसको तरकारी बुटवल, सैनामैना लगायतका हाटबजारहरूमा समेत बिक्री हँुदै आएको छ । मौसमी उत्पादनको रूपमा किसानले आलु खेती समेत गर्दै आएका छन् । आलु खेतीलाई पालिकाले पकेटको रूपमा समेत बिस्तार गर्ने योजना बनाएको छ । ३ वटा आलु उत्पादन किसान समूह नै बनाएर आलु को काम गर्दै आएको कञ्चन गाउँपालिकाले किसानले उत्पादन गरेको आलु भण्डारणको लागि भैरहवामा रहेको कोल्डस्टोर सँग सम्झौता गरी किसानले राखेको आलुको आधा अर्थात ५० प्रतिशत भाडामा अनुदान दिँदै आएको हो ।
कञ्चन गाउँपालिकाका कृषि शाखा प्रमुख रामप्रसाद अधिकारीका अनुसार यसरी किसानले उत्पादन गरेको आलु भण्डारण गरी राख्ने, बेमौसममा बढि मूल्यमा बिक्री गर्न पाउने हुँदा कोल्डस्टोरमा राखेको आधा भाडा रकम पालिकाले तिर्दै आएको जानकारी दिए ।
बर्षमा पालिकामा २० देखि २५ मेट्रिक टन आलु उत्पादन हुदै आएको छ । जसमा पालिका वडा नम्बर १, २ र ३ मा एउटा एउटा आलु उत्पादन गर्ने कृषक समूह नै निर्माण गरिएको छ । जसले समूह मार्फत उत्पादन भएको आलु हार्भेष्ट पछि बेमौसममा मूल्य बढि पाउनको लागि कोल्डस्टोरमा राख्दै आएका छन् । जसमा समूह मार्फत १०० बढि किसान र अन्य किसानहरू ३ देखि ४ सय भन्दा बढि किसानले व्यवसायिक रूपमा आलु खेती गर्दै आएको पालिकाको कृषि शाखा प्रमुख अधिकारी बताउँछन् । उनका अनुसार आलुको सुरुवाती चरणमा टिपीएस आलुको विउ पालिकाले अनुदानको रूपमा उपलब्ध गराएको थियो । त्यसपछि अहिले किसानले आफै विउलाई कोल्डस्टोरमा राखेर पुनः दोस्रो पुस्ताको विऊको रूपमा प्रयोग गर्दै आएका छन् ।
पालिका कृषि शाखा प्रमुख अधिकारी भन्छन्–‘किसानलाई अन्य अनुदान त, छ तर हामी उत्पादन पछि बेमौसममा किसानले मुल्य बढि पाउनुहुने अपेक्षा सहित खाने आलु र विऊको आलुमा स्टोर गर्दा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छौं । ’
यसको अलवामा ठूलो मात्रामा आलु उत्पादन गर्ने किसानको लागि पनि पालिकाले नमुना किसान छनौट गरी अनुदान समेत प्रदान गर्दै आएको छ । पालिकाका प्रमुख प्रसासकीय अधिकृत सागर गौतमका अनुसार पालिकाले आलु किसान लाई प्रोत्साहन स्वरूप ३–४ जना नमुना किसान छनौट गरी अनुदानको रूपमा ३० देखि ६० हजार रूपैयाँ सम्म अनुदान उपलब्ध गराउदै आएका छौं । पालिकामा टिपीएस आलुको व्यवसायीक रूपमा उत्पादन बढि हुँदै आएको छ ।
तरकारीको राजा मानिने आलु जताततै पाइने प्रमुख नगदे बाली हो । आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ । आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ । आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो माटोमा राम्रो फल्छ । नेपालका धेरै ठाउँमा आलु खेती गरिन्छ । कृषकले पनि आलुखेतीबाट राम्रो आम्दान गर्न सफल भएका हुन्छन् ।आलुलाई तरकारीका रूपमा मात्र नभइ उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाद्यान्नकै रूपमा समेत प्रयोग गरिन्छ । उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिने जातहरूमा कुफ्रि ज्योति, जनकदेव, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरू छन् ।
आलु खेतिका लागि हल्का चिसो माटो आवश्यक पर्ने गर्छ । आलु लगाउनुभन्दा पहिले खन जोत गरि माटोलाई खुकुलो पार्नु पर्ने हुन्छ । बढि सुख्खा माटो भएमा सिचाई गर्न सकिन्छ तर सिचाई गरेको ३ देखि ५ दिन सम्म पर्खिई आलु लगाउँदा माटोमा पानीको मात्र आलुका लागि आवश्यकता अनुसारको हुन सक्छ ।आलु १० हप्ता अर्थात साढे दुई महिनामा तयार हुन्छ । आलुलाई खन्दा सुख्खा दिनमा खन्ने गर्नुपर्छ । खन्ने समयमा विषेश ध्यान दिनुपर्ने हुन्छ । फलमा चोट लागे आलुनै बिग्रने र कुहिने डर वढि हुन्छ । आलुलाई खनिसकेपछि पानीमा धुनु सवैभन्दा हानिकारक हुन्छ त्यसैले नधोई राख्नुपर्ने हुन्छ ।