Butwal Today

प्रेस चौतारीको स्थापना दिवसमका अवसरमा पुरस्कार वितरण

२१ माघ २०८०, आइतबार
अ+
अ-

दाङ, २१ माघ ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा दाङ शाखाले आइतबार रक्तदान कार्यक्रम गरेको छ । रक्त सञ्चार सेवा केन्द्र लमहीमा एक कार्यक्रमको आयोजना गरी रक्तदान गरिएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एमाले) केन्द्रीय लेखा आयोजक सदस्य रेवतीरमण शर्माले पत्रकारितालाई मर्यादित बनाउन प्रेस चौतारीलाई आग्रह गरे । पत्रकारिताको मर्यादा दिन प्रतिदिन कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शर्माले भने, ‘पत्रकारिता दिन प्रतिदिन कमजोर बन्दै गइरहेको छ । कुनै बेला पत्रकारितामा जुन मर्यादा र इमान्दारिता थियो, पछिल्लो समय हराउँदै गएको छ । मर्यादित पत्रकारिताको नेतृत्व प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले गर्नुपर्छ ।’ सामाजिक जागरण र रुपान्तरणमुखी पत्रकारिता अहिलेको अपरिहार्यता भएको बताउँदै शर्माले सत्य, तथ्य र खोजी समाचार सम्प्रेषण गर्नु नै पत्रकारिताको धर्म भएकाले पत्रकारहरु देश विकासको पहरेदार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य लुम्बिनी प्रदेश सहइञ्चार्ज टीकाबहादुर बस्नेतले मुलुकमा व्यावसायिक पत्रकारिताको जग हाल्ने कार्यमा प्रेस चौतारीले भूमिका खेलेको बताए । मिसन पत्रकारिताले पत्रकारिता कमजोर बनिरहेको समयमा प्रेस चौतारी नेपालको स्थापना भएको सन्दर्भ केलाउँदै सहइञ्चार्ज बस्नेतले प्रेस चौतारीकै नेतृत्वमा व्यवसायिक पत्रकारिताको युग सुरु भएको र पत्रकारितामा विभिन्न आयाम थपिएको दाबी गरे ।

कार्यक्रममा एमाले लमहीका इञ्चार्ज रतनकुमार केसीसहित १४ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा प्रविन पौडेल, धनिराम गुरूङ, बासुदेव चौधरी, नमनिधि पौडेल, गंगाराम भट्टराई, विशाल आचार्य, सन्तोष खड्का, दिलिप विसी, किशोरसिंह ठकुरी, कैलाश माली, सुरेश कुमार राना, अजय थारू, निशाकुमारी चौधरी रहेका छन् ।

यसैबीच प्रेस चौतारी नेपाल दाङले स्थापना दिवसको अवसरमा भोली पुरस्कार बितरण कार्यक्रमको आयोजना गर्न लागेको छ । बिहान ११ बजे नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजना हुने कार्यक्रममा ७ जना पत्रकार पुरस्कृत हुने जिल्ला अध्यक्ष प्रेमबहादुर राम्जाले जानकारी दिए । उनका अनुसार उक्त अवसरमा चौतारी दाङले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार प्रदान गर्ने अध्यक्ष राम्जाले जानकारी दिए । उनका अनुसार प्रेस चौतारी योगदान पुरस्कार जेएन सागरलाई, धनिराम स्मृति पत्रकारिता पुरस्कार दशरथ घिमिरेलाई, हिमस्मृति साहसिक पत्रकारिता पुरस्कार छवि पुरीलाई, मदन केसी आर्थिक पत्रकारिता पुरस्कार सन्तोष खनाललाई र प्रेस चौतारी प्रतिभा पुरस्कार रामप्रसाद सुवेदी, चेतन वली, लक्ष्मी पोखरेललाई प्रदान गरिने भएको छ ।