© २०२३
सुनवल, १३ माघ ।
आर्सेनिक युक्त पानी पिउन बाध्य स्थानीय सम्म शुद्ध पिउने पानीको पहुँच पुर्याउन पश्चिम नवलपरासीको रामग्राममा खानेपानी आयोजना निर्माण सुरु भएको छ । रामग्राम १० लंकहवामा एक करोड ४३ लाखको लागतमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण कार्य सुरु भएको हो । ट्याङ्की निर्माणको शिलान्यास गर्दै नगर प्रमुख धनपत यादवले खानेपानीको पहुँच विस्तारमा प्राथमिकता दिएको बताए । खानेपानी आयोजना नभएको स्थानमा नयाँ आयोजना निर्माण र ट्याङ्की निर्माण भईसकेको स्थानमा पाईप विस्तारको कामलाई तीव्रता दिएको उनको भनाई छ ।
नगरपालिकाको आन्तरिक स्रोत र अपुग रकम प्रदेश तथा संघीय सरकार संग माग गरी बढी आर्सेनिक भएका स्थानमा पहिलो प्राथमिकता दिएर शुद्ध पिउने पानीको पहुँच पुर्याउन काम भइरहेको नगर प्रमुख यादवले बताए । ट्याङ्की बनेर पनी विगतमा पानी वितरण हुन नसकेको अवस्था विद्यमान रहेको बताउँदै उनले नगरपालिकाले आन्तरिक स्रोतबाटै काम गर्ने गरी पाईप विस्तारका लागि बजेट विनियोजन गरेको पनि जानकारी दिए ।
चालु आर्थिक वर्षको जेठ मसान्त सम्म निर्माण सक्ने गरी एमएस मनकामना ड्रिलिङ्ग कम्पनीले ट्याङ्की निर्माणको ठेक्का लिएको छ । उक्त खानेपानी आयोजना निर्माण सम्पन्न भए पश्चात करिब एक हजार घरधुरीमा शुद्ध पिउने पानीको पहुँच पुग्ने नगरपालिकाले जनाएको छ । रामग्राम नगरपालिकाका अधिकांश स्थानमा स्थानीय आर्सेनिक युक्त पानी पिउन बाध्य छन् । खानेपानीको पहुँच विस्तारलाई नगरपालिकाले पहिलो प्राथमिकता दिनुपर्ने स्थानीयको भनाई छ । सो स्थानमा यसअघि नै डिप बोरिङ्ग मात्र पानी निकालेर परीक्षण गर्ने क्रममा गुणस्तरीय पानी पाइएको नगरपालिकाका इन्जिनियर माधव न्यौपानेले जानकारी दिए ।