© २०२३
पाल्पा, १२ माघ ।
रेडियो नेपालले पाल्पाको बगनासकाली गाउँपालिका—९ को बगनासडाँडाबाट एफएम रिले स्टेशन स्थापना गरी शुक्रबारदेखि प्रसारण सुरु गरेको छ । देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पु¥याउने लक्ष्य रहेको रेडियो नेपालले पछिल्लो रिले स्टेशनका रुपमा पाल्पाको बगनासमा रिले स्टेशन स्थापना गरेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिए ।
रेडियो नेपालले बगनासबाट ५०० वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरी प्रसारण सुरु गरेको रेडियो नेपालका उप निर्देशक तथा प्रादेशिक प्रशारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादबले बताए । नेपाल टेलिभिजन संगको सहकार्यमा टावर, भवन सहित अन्य भौतिक संरचना प्रयोग गरी एफएम रिले प्रसारण आरम्भ गरिएको हो ।
एफएम ब्यान्डको १०३ मेगाहर्जमा सुरु गरिएको रिले प्रसारणबाट पाल्पा र स्याङ्गजा जिल्ला त्यस्तै गुल्मी,अर्घाखाँची, बाग्लुङ्ग, पर्वत, नवलपरासी, रुपन्देहीका केही क्षेत्रमा रेडियो नेपाल सुन्न सकिने छ ।
एफएम रिले स्टेशन बगनास पाल्पाको प्रसारण लगायत एफएम जडान कार्यका लागि रेडियो नेपालका उप निर्देशक तथा प्रादेशिक प्रशारण केन्द्र पोखराका कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवको नेतृत्वमा टोली खटिएको थियो । जसमा बरिष्ठ प्राविधिक अधिकृत जगदीश शर्मा, बरिष्ठ प्राविधिक सहायक गोबिन्द पाठक,टोपराज पुरी, बीर बहादुर थापा तथा पाल्पा जिल्ला संवाददाता बिष्णु खनाल खटिएका थिए ।