© २०२३
दाङ, १० माघ ।
यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । निर्वाचनका लागि घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान स्थल निर्माण भैसकेको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र तोकिएको छ । सूचना अधिकारी कुँवरका अनुसार ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेशसभा सदस्यले मतदान गर्ने छन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुखहरु २ सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सामग्रीको व्यवस्थापन, कर्मचारीलाई जिम्मेवारी तोक्ने काम, सुरक्षा व्यवस्थापनको काम सकिएको उनले जानकारी दिए ।
बुधवार बिहान राजनीतिक दलको सर्बदलिय बैठक बसेर निर्वाचन आयोगले निर्देशन गरेका निर्वाचन आचारसंहिता पालना गर्ने निर्णय भएको छ । मतदाताले मतदान स्थलमा मोवाइल प्रयोगमा निशेध गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए । दुई वटा मतदान केन्द्रमा दश दश जना कर्मचारीको व्यवस्थापन गरिएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कर्मचारी सहयोगी रहने छन् । ‘क’ मतदान केन्द्रमा जिल्ला अदालत दाङका श्रेष्तेदार दामोदर घिमिरे र ‘ख’ मतदान केन्द्रमा दाङ जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । यही माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशमा अन्य र महिला गरि दुइ सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले अन्यतर्फ रोल्पाका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसले महिलामा गुल्मीकी विष्णुकुमारी सापकोटालाई उमेद्धार बनाएको छ । यस्तै नेकपा एमालेले अन्य क्लस्टरतर्फ पाल्पाका झपेन्द्रबहादुर घर्ती क्षेत्री र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीको तर्फबाट अन्यमा नवलपरासीका बाल गोविन्द चौधरीको उम्मेदवारी दर्ता भएको छ । राप्रपाको तर्फबाट महिलामा कपिलवस्तुकी विजया लक्ष्मी सिंहलाई उम्मेदवारी दर्ता भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कुल मतदाता सख्या ३सय ५जना रहेको छ । यसमध्ये प्रदेश सभा सदस्यहरूको सख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको सख्या २१८ रहेको छ ।