© २०२३
दाङ, २७ पुस ।
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार पुस २३ गते लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका थिए । थापाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीदत्त चलाउनेले बताए ।
दिउँसो १ बजे अगाबै थापाले उम्मेदवारी फिर्ता लिएको र दिउँसो २ बजेपछि उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गरिएको उनले जानकारी दिए । अब लुम्बिनीमा दुई सिटका लागि ६ जनाका बीचमा प्रतिष्पर्धा हुने भएको छ ।
महिला कोटामा नेकपा एमाले दाङकी नेतृ तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसबाट गुल्मीकी नेतृ विष्णुकुमारी सापकोटा, र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कपिलबस्तुकी नेतृ विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
त्यस्तै अन्यमा एमालेबाट पाल्पाका नेता झपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्र रोल्पाका नेता झक्कुप्रसाद सुवेदी र जनमत पार्टीबाट नवलपरासी पश्चिमका नेता बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् । एक सय नौ स्थानीय तहका दुई सय १८ प्रमुख र उपप्रमुख छन ।
प्रदेश सभा सदस्यको एक मत बराबर ५३ र स्थानीय तहका पदाधिकारीको एक मत बराबर १९ मत भार गणना हुने गर्छ । राष्ट्रिय सभा सदस्य चुन्न लुम्बिनी प्रदेशमा कुल तीन सय पाँच जनाले मताधिकार पाउने छन् ।
लुम्बिनीमा प्रदेशमा प्रदेश सभा सदस्य तर्फ कूल मत भार चार हजार ६ सय ११ र स्थानीय तह तर्फको कुल मतभार चार हजार एक सय ४२ रहेको छ । यो प्रदेशमा कूल मतभार आठ हजार सात सय ५३ रहेको छ ।
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिन लागेपछि रिक्त हुन जाने पदपुर्तिका लागि माघ ११ गते निर्वाचन तोकिएको छ ।।।