© २०२३
दाङ, २३ पुस ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा चार पार्टीबाट सातजनाको उम्मेदवारी दर्ता भएको छ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा चुनावमा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसाकुमारी केसीले उम्मेदवारी दर्ता गरेका छन् । घर्तीको प्रस्तावकमा गिरिधारीलाल न्यौपाने र समर्थकमा तुलसीप्रसाद चौधरी रहेका छन् भने केसीको प्रस्तावकमा घोराहीका नगरप्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सदस्य सीता शर्मा रहेको निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।
त्यसैगरी गठबन्धनबाट रोल्पाका माओवादी नेता झक्कु सुवेदीले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा उम्मेदवारी दर्ता गराएकी छन् ।
जनमत पार्टीका बालगोबिन्द चौधरीले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा चन्द्रकेश गुप्ता र समर्थकमा गीता गुरुङ रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निरन्जनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा आशिष चौधरी र रोहिणी गाउँपालिकाका उपप्रमुख सीबकान्ती चमार समर्थक रहेका छन् । राप्रपाबाट महिलातर्फ कपिलबस्तुका बिजया लक्ष्मी सिहले उम्मेदवारी दर्ता गराएकी छन् । शिबराज नगरपालिका कपिलबस्तुका मेयर अजय थापा प्रस्तावक छन् भने लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादब समर्थक रहेका छन् ।
गठवन्धनबाट रोल्पाका नेकपा माओवादीबाट झक्कु सुबेदीको समर्थकमा दिलकुमारी बुढामगर र मिना बुढामगर प्रस्तावक रहेका छन् । दुबैजना लुम्बिनी प्रदेश सभासद सदस्य हुन् । नेपाली काङ्ग्रेसबाट महिलामा विष्णुकुमारी सापकोटाले उमेदवारी दर्ता गरएकी छन् । उनको प्रस्तावक बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी रहेका छन् ।
लुुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा रदस्य र २१८ पालिकाका जनप्रतिनिधि गरी जम्मा ३०५ जना मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा दुइजनाको लागि राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।