© २०२३
दाङ, ५ पुस ।
दाङका तीन जना युवा फिलिपिन्स र एक जना युवा जापानमा ८ महिनादेखि अलपत्र परेका छन् । साबिक डुरुवा गाविस वडा नं. ३ हाल तुलसीपुर १४ निवासी लक्ष्मी डाँगी (पुजा) र उनका श्रीमान सुरज गुरुङले अमेरिका, जापान र अस्ट्रेलिया पठाइदिने भन्दै उनीहरुबाट करिब १ करोड १७ लाख रकम लिएर युवाहरुलाई फिलिपिन्स लगेर ८ महिनादेखि अलपत्र परेको उनका आफन्तले आरोप लगाएका छन् ।
पटक पटक गरि डाँगी र गुरुङले अमेरिका पठाउँने भन्दै दाङका आशिष सुनारबाट १५ लाख, मोहन रावतबाट २१ लाख जापान गएका तुलसीपुर ५ का गोपाल खड्कालाई अमेरिका पठाउँने भन्दै ३० लाख रुपैया लगेको उनका आफन्तले जानकारी दिए । त्यसैगरी घोराही १८ का अर्पण केसीलाई जापान पठाउने भन्दै २५ लाख, अनिश वलीबाट १५ लाख र तुलसीपुर ९ का कमल वलीलाई अस्ट्रेलिया पठाउने भन्दै १८ लाख रुपैयाँ लगेको उनका आफन्तले बताएका छन् ।
पैसा लगेर विभिन्न बहाना बनाउँदै अहिले डाँगी र गुरुङ सम्पर्क बिहीन भएको कमल रावतले जानकारी दिए ।तुलसीपुर ५ की खुमा वलीले आफ्नो छोरा जापानमा भएको बेला उनीहरुले अमेरिका पठाउँने भन्दै ३० लाख लगेर ८ महिनादेखि छोरा लुकेर बस्दै आएको र त्यसको खर्च घरबाट पठाउँदै आएको बताईन् । डाँगी र गुरुङले विभिन्न बहाना बनाउँदै काम हुँदै छ भनेर झुक्याएको र पछिल्लो समय विभिन्न किसिमका धम्कीहरु दिन थालेको करिस्मा केसीले बताईन् ।
युवकका आफन्तहरुले जसरी भएपनि अलपत्र अवस्थामा रहेका युवाहरुलाई नेपाल फर्काउनको लागि पहल गरिदिन आग्रह गरेका छन् । साहु र बैंकबाट कर्जा लिएर डाँगी र गुरुङलाई पैसा दिएको भन्दै अहिले आफन्त अलपत्रमा परेको र ८ महिनादेखि एउटा कोठाबाट बाहिर निस्कन नर्पाएको भन्दै उनीहरुको खाना बस्नको लागि पनि नेपालबाट पैसा पठाउनु परेको उनीहरुले देखेसो पोखे । आफ्ना आफन्तलाई जसरी भए पनि नेपाल फर्काउन सरकारसंग माग पनि गरेका छन् ।