© २०२३
देउखुरी, २ पुस ।
लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापतिका लागि पुस १७ गते निर्वाचन हुने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । लुम्बिनीमा ६ वटा विषयगत समिति छन् । समितिको सदस्य मनोनयन भए पनि सभापति भने चयन भएका थिएनन् ।
६ वटा विषयगत समितिमध्ये दुई वटा समितिको सभापति प्रतिपक्ष दल एमालेलाई दिने लगभग सहमति भएको र बाँकी चारवटा सभापति पदको सत्तपक्ष दलबीच सहमति गर्ने तयारी भएको कांग्रेस संसदीय दल सचेतक निमा गिरीले बताइन् । एमालेलाई सार्वजनिक लेखा समितिको सभापति र कृषि, वन तथा वातावरण समितिको सभापति दिने सहमति भएको उनले बताइन् ।
प्रदेशसभामा रहेका अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार विकास समिति, सामाजिक विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति सत्तापक्षले बाँडफाँड गर्ने स्रोतले जनाएको छ ।