© २०२३
पाल्पा, २८ मंसिर ।
पाल्पा र स्याङ्गजा जोड्ने कालीगण्डकी नदीमाथि नयाँ पक्की पुल बन्ने भएको छ । कालीगण्डकी जलबिद्युत आयोजनाको निर्माणको क्रममा निर्माणजन्य सामग्रीको ढुवानी गर्दा अत्यधिक भारबहनयुक्त मालबाहक साधनका कारण पुल जीर्ण भएको थियो । पुरानो पुल जीर्ण बनेपछि नयाँ पक्की पुल निर्माणको काम सुरु भएको हो । करिब ५ दशक अगाडि निर्माण भएको पुल जीर्ण बनेपछि नयाँ पुल निर्माणको काम सुरु भएको पुल सेक्टर आयोजनाले जनाएको छ ।
सिद्धार्थ राजमार्ग खण्डको राम्दीमा पर्ने यो पुलले लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गर्दछ । पुरानो पुलले १० टन भन्दा धेरै समान बोकेका सवारी साधनलाई थेग्ने अवस्था नरहेपछि अधिक भर भएका सवारी सञ्चालनमा समेत रोक लगाइएको थियो । नयाँ बन्न लागेको पुलले ४० टनसम्म भारवहन गर्न सक्ने क्षमताको रहने बताइएको छ । नयाँ डिजाइनमा पुल बन्न लागेको पुल सेक्टर आयोजना प्रमुख तथा इञ्जिनियर आशिक रिजालले जानकारी दिए ।
वि.सं. २०८२ असार मसान्तभित्र निर्माणको काम सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सनले करिब २७ करोड ७१ लाखको लागतमा निर्माणको काम सुरु गरेको हो । नयाँ पुलको चौडाई ११ मिटर तथा लम्बाई एक सय ८ मिटर रहने निर्माण कम्पनीले जनाएको छ । यो पुल भएर दैनिक हजार बढी सवारी साधन लुम्बिनी र गण्डकी प्रदेश आवत जावत गर्ने गर्दछन् ।