© २०२३
सुनवल, १८ असोज ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी जनगुनासो संकलन गरेको छ । रामग्राम ४ जितपुरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय जनता, जनप्रतिनिधि लगायत सरोकारवालाहरुले नवलपरासी हुँदै भारतबाट लागुऔषध तस्करी बढेको गुनासो गरेका थिए । खुल्ला सिमानाको फाईदा उठाउँदै सिमावर्ती भारतीय बजारबाट लागुऔषध ओसारपसार भईरहेको भन्दै स्थानीयले प्रहरीको ध्यानाकर्षण गराएका छन् । सिमावर्ती भारतीय बजारमा गएर सेवन गर्ने र अन्य जिल्लामा पनि पठाउने काम नवलपरासी हँुदै भईरहेको भन्दै स्थानीयले प्रहरीले लागुऔषध नियन्त्रणमा निगरानी बढाउनुपर्नेमा जोड दिएको प्रहरी नायव उपरीक्षक रेशम बोहोरोले बताए ।
लागुऔषध सेवन र ओसारपसारमा नियन्त्रणका लागि जनचेतना अभियान संगै निगरानी पनि बढाएको बोहोराले बताए । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा खैरो हिराईन सहित साढे सात किलो गाजा, १४ सय ट्याब्लेट र ९ सय २० एम्पुल विभिन्न प्रकारका लागुऔषध बरामद गर्नुका साथै १ सय १० जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । सुझाव संकलन गरेर प्रहरीलाई समाजप्रति थप उत्तरदायि बनाउँदै शान्ति सुरक्षा कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक काजिकुमार आचार्यले बताए । प्राप्त सुझावका आधारमा प्रहरीले रणनिति बनाएर लागुऔषध नियन्त्रण र अन्य सिमा सुरक्षाका काममा अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा राजनैतिक दल, जनप्रतिनिधि, स्थानीय लगायत सरोकारवालाले लागुऔषध नियन्त्रण, शान्ति सुरक्षा कायम, तस्करी नियन्त्रण, सिमा नाकाको निगरानी, मल ओसारपसार, ट्राफिक चेकजाँच लगाएका विषयमा जिज्ञासा राखेका थिए ।