© २०२३
बुटवल, ११ असोज । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औ वार्षिक साधारण तथा २५ औ अधिवेशनमा अध्यक्षका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठको प्यानलले विहीबार भब्य घोषणा सभा गरेको छ । आधा दर्जन पुर्वअध्यक्षसहितको घोषणा सभामा पुर्वअध्यक्षहरु जीवन ओझा, अर्जुनमान सैजु, निर्मल प्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेशमान सिह, खिम बहादुर हमाल, वर्तमान अध्यक्ष उज्ज्वल कसजुले उम्मेदरबारहरुलाई फुलमालासहित स्टेजमा सार्वजनिक गर्दा विजयी सभाको झल्को दियो ।
संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिनेश प्रसाद श्रेष्ठको प्यानलमा वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, उद्योग उपाध्यक्ष नबिन श्रेष्ठ, वाणिज्य उपाध्यक्ष विमल भट्टराई, महासचिव बाबुराम बिक, सचिव प्रतीक पोखरेल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, सहकोषाध्यक्ष जाकिर हुसैनलाई अगाडि सारेको छ । केही समयसम्म दुवै पक्षको साझा उम्मेदबार भनिएका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे र वाणिज्य उपाध्यक्ष विमल भट्टराई पनि श्रेष्ठको प्यानलमा भएको घोषणा सहित टिमको प्रतिवद्धताहरु सार्वजनिक गरे ।
कार्यक्रम संचालन गरेका पुर्वअध्यक्ष सुरेन्द्र श्रेष्ठले उम्मेदवारको ब्यावसायिक र सामाजिक योगदानबारे प्रकाश पारे । बुटवलको ब्यवसायसंगै सामाजिक कार्यमा संघको योगदान समेत उनले बताए ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार दिनेश प्रसाद श्रेष्ठले आफनो प्रतिवद्धता जनाउँदै बुटवल शहरलाई मुलुककै अन्य क्षेत्रिय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउने पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरि जागरण ल्याउने, ब्यावसायिक हकहित र शान्ति सुरक्षाको लागि पहल गर्ने, सामरिक, पर्यटकीय, उद्यानहरुको प्रवद्र्धन हुने गरी भूमिका खेल्ने, ब्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गर्ने, कर, राजश्व र भन्सारको समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्यको पहल गर्ने, बैक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्ने, प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग पहल गर्ने बताए ।