© 2026
रोल्पा ।
सूर्तिजन्य पदार्थ तथा मदिराजन्य वस्तुको खुला बिक्रीवितरण, बढ्दो प्रयोग र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अभावका कारण रोल्पामा यसको नियमन तथा नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । स्वास्थ्य, सामाजिक तथा आर्थिक क्षेत्रमा गम्भीर असर पार्ने यी वस्तुको प्रयोग न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय, नियमित अनुगमन र जनचेतनामूलक अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पामा स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा भएको समन्वय बैठकमा सहभागीहरूले सूर्तिजन्य पदार्थ तथा मदिराको प्रयोग नियन्त्रणका लागि विद्यमान कानुनी प्रावधानलाई व्यवहारमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनीहरूले बजारमा सहज रूपमा बिक्रीवितरण भइरहेको सूर्तिजन्य पदार्थ तथा मदिराजन्य वस्तु, सार्वजनिक स्थलमा हुने सेवन र यसले निम्त्याउने सामाजिक समस्याप्रति चिन्ता व्यक्त गरेका थिए ।
बैठकमा सहभागीहरूले सूर्तिजन्य पदार्थ तथा मदिराको प्रयोगले व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार, समाज र आर्थिक अवस्थासमेत प्रभावित हुने बताएका थिए । विशेषगरी किशोरकिशोरी तथा युवापुस्तामा यसको प्रयोग बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्यालय, समुदाय र नागरिकस्तरमा सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतले सूर्तिजन्य पदार्थ तथा मदिराजन्य वस्तुको बिक्रीवितरण व्यवस्थित गर्ने, सार्वजनिक स्थलमा सेवन रोक्ने, कानुनले निषेध गरेका स्थान तथा उमेर समूहमा बिक्री हुन नदिने र नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने विषय व्यवहारमा लागू गर्न कठिन भइरहेको बताए । उनले नियमनका प्रावधान भए पनि प्रभावकारी कार्यान्वयनको अभावले नियन्त्रण प्रयास कमजोर बनेको बताए ।
सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा करिब २७ हजार १३७ जनाको मृत्यु हुने गरेको र यो कुल मृत्युको झन्डै १५ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । सूर्तिजन्य पदार्थको सेवनबाट उत्पन्न मुटुसम्बन्धी रोगका कारण २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको तथ्यसमेत उनले प्रस्तुत गरे ।
विश्वव्यापी अवस्थाबारे जानकारी दिँदै राउतले सूर्तिजन्य पदार्थका कारण हरेक वर्ष करिब ८० लाख मानिसको ज्यान जाने गरेको बताए । त्यसमध्ये करिब १२ लाख मानिस प्रत्यक्ष रूपमा धूम्रपान नगरे पनि अरूले सेवन गरेको धुवाँको सम्पर्कमा आउँदा ज्यान गुमाउने गरेको उनको भनाइ थियो । उनले सूर्तिजन्य पदार्थको सेवनबाट हुने स्वास्थ्य जोखिमबारे नागरिकलाई जानकारी गराउन निरन्तर अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कानुन तथा नीति निर्माण गरेर मात्र नियन्त्रण सम्भव नहुने भन्दै कार्यान्वयन गर्ने निकायले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । उनले बजार अनुगमनलाई नियमित बनाउने, व्यवसायीलाई कानुनी प्रावधानबारे स्पष्ट जानकारी दिने र नियमविपरीत कारोबार गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए । नियमनलाई प्रभावकारी बनाउन प्रशासनिक सक्रियता र सम्बन्धित निकायको जवाफदेहिता अनिवार्य रहेको उनको भनाइ थियो ।
सूर्तिजन्य पदार्थ तथा मदिराको नियन्त्रण अभियानलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा बैठकका सहभागीहरूले जोड दिएका थिए । स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, विद्यालय, सञ्चारमाध्यम, नागरिक समाज तथा व्यवसायीबीच सहकार्य भए मात्रै नियन्त्रणका प्रयास प्रभावकारी बन्न सक्ने उनीहरूको धारणा थियो । यसलाई कुनै एक कार्यालयको जिम्मेवारीमा सीमित नराखी समुदायस्तरमा समेत विस्तार गर्नुपर्ने उनीहरूले बताएका थिए ।
सूर्तिजन्य पदार्थको सेवनले नसर्ने रोग, श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग तथा विभिन्न प्रकारका क्यान्सरको जोखिम बढाउने भएकाले स्वास्थ्य सचेतना अभिवृद्धि आवश्यक रहेको बैठकमा औँल्याइएको थियो । त्यस्तै, मदिराको अत्यधिक सेवनले घरेलु हिंसा, दुर्घटना, सामाजिक विकृति र पारिवारिक सम्बन्धमा तनाव सिर्जना गर्न सक्ने भन्दै यसको नियन्त्रणलाई सामाजिक सुरक्षासँग समेत जोडेर अघि बढाउनुपर्ने सहभागीहरूले बताएका थिए ।
बैठकले सूर्तिजन्य पदार्थ तथा मदिराजन्य वस्तुको प्रयोग न्यूनीकरणका लागि सरोकारवाला निकायबीच सहकार्य विस्तार गर्ने, जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने, बिक्रीवितरणको नियमन गर्ने र अनुगमनलाई निरन्तरता दिने विषयमा छलफल गरेको थियो ।
सरोकारवालाहरूले कानुनको कार्यान्वयन, नियमित बजार अनुगमन, व्यवसायीको जिम्मेवारीबोध र नागरिकस्तरमा सचेतना बढाउन सके मात्रै सूर्तिजन्य पदार्थ तथा मदिराको प्रयोग नियन्त्रणमा सार्थक उपलब्धि हासिल गर्न सकिने बताएका छन् । साथै, युवापुस्ता र किशोरकिशोरीलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै समुदायलाई अभियानमा सहभागी गराउनुपर्नेमा उनीहरूको जोड थियो ।