© 2026
काठमाडौँ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आए हतकडीसहित आउन सरकारलाई चुनौती दिएका छन् । सरकारको दबाब र निगरानीबाट आफू नडराउने बताउँदै उनले विपक्षी दलले उठाएका प्रश्नलाई बल वा सामाजिक सञ्जालको माध्यमबाट दबाउन खोजिए पनि आफ्नो राजनीतिक भूमिका नछाड्ने स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले सरकारलाई प्रश्न गर्न नछाड्ने बताए । आफूलाई पक्राउ गर्ने चर्चा भइरहेको उल्लेख गर्दै उनले पक्राउ गर्न आउँदा खाली हात नआउन चेतावनी दिए ।
‘मलाई समाउने भन्छन् । पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु । खाली हात चाहिँ जान्नँ । यत्ति कुरा हो,’ उनले भने । सभापति थापाले नेपाली कांग्रेसले आफ्नो राजनीतिक चरित्र र जिम्मेवारीबाट पछि नहट्ने बताउँदै सरकारका गलत काममाथि प्रश्न उठाउनु विपक्षी दलको दायित्व भएको उल्लेख गरे । विपक्षीलाई तर्साएर आफ्ना कमजोरी र गलत कामबाट ध्यान मोड्ने प्रवृत्तिविरुद्ध कांग्रेसले विगतमा पनि आवाज उठाएको उनको भनाइ थियो ।
‘न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ, न कांग्रेसको नेतृत्वले चरित्र लुज गर्छ । हामीले ठीक प्रश्न गर्न छाड्यौँ भने, हामीलाई कसैले तर्साएर तर्सन थाल्यौँ भने कांग्रेस होइन,’ उनले भने ।
थापाले राजनीतिक दल र तिनका नेतृत्वलाई दबाबमा राख्न विगतमा बल प्रयोग हुने गरेको र अहिले सामाजिक सञ्जालमार्फत तर्साउने प्रयास भइरहेको टिप्पणी गरे । यस्ता गतिविधिबाट आफू प्रभावित नहुने उल्लेख गर्दै उनले प्रश्न उठाउने र सरकारलाई जवाफदेही बनाउने आफ्नो भूमिका निरन्तर रहने बताए ।
‘हिजो बलले तर्साउन खोजिन्थ्यो, आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ उनले भने ।
बैठकमा थापाले अन्य राजनीतिक दलका नेताहरूसँग आफ्नो भेटघाट र राजनीतिक संवादलाई पनि स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गरे । कांग्रेस सभापति भएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पाँच पटक भेटघाट भएको उनले जानकारी दिए ।