Butwal Today

सल्यानमा स्क्रब टाइफसको ग्राफ ओरालो, अझै भेटिँदै छन् संक्रमित

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

सल्यान ।

सल्यान जिल्लामा स्क्रब टाइफस संक्रमण पछिल्लो समय घट्दै गएको भए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । स्क्रब टाइफस परीक्षण कार्य निरन्तर जारी राखिएको छ ।

मंगलबार पनि १० जनाको जाँच गरिएकोमा एक जनामा संक्रमण भेटिएको छ । यो संगै हालसम्म यो रोगबाट संक्रमित हुनेको संख्या ८६८ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारप्रसाद रिजालले जानकारी दिए ।

मंगलबार दार्मा गाउँपालिकाका १ पुरुषमा संक्रमण भेटिएको हो भने अन्य ९ जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्यांक अनुसार कार्तिक ७ गते सोमबार सम्म जिल्लाभरका सरकारी स्वास्थ्य संस्थामा ३ हजार ४४२ जनाको जाँच गरिएकोमा ७५९ जनामा संक्रमण पुष्टि भएको थियो । सोही अवधिमा बागचौर नगरपालिका स्थित प्राइभेट स्वास्थ्य संस्थामा ३९९ जनाको जाँच गर्दा १०८ जनामा पोजेटिभ देखिएको थियो ।

सबैभन्दा पहिले यस रोग फैलिएको दार्मा गाउँपालिकामा २६५ जना संक्रमित भेटिएका छन् । बागचौर नगरपालिकाका सरकारी स्वास्थ्य संस्थामा १६३ जना र प्राइभेट स्वास्थ्य संस्थामा १०८ जना गरेर २७१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै कपुरकोट गाउँपालिकामा ८६ जना, कुमाख गाउँपालिकामा ८३ जना, सल्यान जिल्ला अस्पतालमा ८३ जना र छत्रेश्वरी गाउँपालिकामा ५८ जना संक्रमित भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिकामा ११ जना, त्रिवेणी गाउँपालिकामा ६ जना, सिद्ध कुमाख गाउँपालिकामा ३ जना र कालीमाटी गाउँपालिकामा २ जना मा संक्रमण देखिएको छ ।

सल्यानमा स्क्रब टाइफसका कारण हालसम्म १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला २ जना र पुरुष ८ जना रहेका छन् । दार्मा गाउँपालिकामा ९ जना (महिला १, पुरुष ८) र छत्रेश्वरी गाउँपालिकामा १ जना (महिला १) को मृत्यु भएको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय सल्यानका अनुसार संक्रमण घट्दो क्रममा रहे पनि जोखिम कायमै रहेकाले ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने वा शरीरमा काला दाग देखिनेजस्ता लक्षण देखिएमा समयमै नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?