© 2026
बुटवल ।
लुम्बिनी प्रदेश सरकारको राजस्व चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो चार महिनामा ४६.२५ प्रतिशतले वृद्धि भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल १५ अर्ब ३५ करोड रूपैयाँ आम्दानी भएको छ । अघिल्लो आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा प्रदेश सरकारले १० अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३७ अर्ब ३८ करोड रूपैयाँ कुल आय प्राप्त गर्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै १५ अर्ब ३५ करोड रूपैयाँ प्राप्त भएपछि वार्षिक लक्ष्यको ४१.०६ प्रतिशत प्रगति भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा वार्षिक लक्ष्यको २६.९८ प्रतिशत र आर्थिक वर्ष २०८१÷८२ मा २६.५० प्रतिशत मात्रै आय प्राप्त भएको थियो ।
आन्तरिक राजस्वमा ४६ प्रतिशत वृद्धि
प्रदेश सरकारको आन्तरिक राजस्व संकलनमा पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आन्तरिक राजस्वतर्फ एक अर्ब ८० करोड रूपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक अर्ब २३ करोड रूपैयाँ संकलन भएको थियो । यसअनुसार आन्तरिक राजस्वमा ४६.४९ प्रतिशत वृद्धि भएको हो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ६ अर्ब ५३ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामा एक अर्ब ८० करोड रूपैयाँ संकलन भएपछि वार्षिक लक्ष्यको २७.६२ प्रतिशत प्रगति भएको छ । कुल आम्दानीको तुलनामा आन्तरिक राजस्वको हिस्सा भने अझै सानो छ ।
संघीय अनुदानबाट ६ अर्ब ५१ करोड प्राप्त
लुम्बिनी प्रदेश सरकारको आम्दानीमा सबैभन्दा ठूलो योगदान नेपाल सरकारबाट प्राप्त हुने अनुदानको रहेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा संघीय सरकारबाट ६ अर्ब ५१ करोड रूपैयाँ अनुदान प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब ३५ करोड रूपैयाँ प्राप्त भएको थियो । यस वर्ष संघीय अनुदानबाट प्राप्त रकम २१.६५ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षमा नेपाल सरकारबाट १४ अर्ब ४२ करोड रूपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखिएको छ । पहिलो चार महिनामा प्राप्त रकम वार्षिक लक्ष्यको ४५.१६ प्रतिशत हो ।
प्रदेश सरकारको आम्दानीको अर्को महत्वपूर्ण स्रोत नेपाल सरकारबाट बाँडफाँड भई प्राप्त हुने राजस्व हो । तर चालु आर्थिक वर्षको पहिलो चार महिनामा यस शीर्षकबाट प्राप्त रकम अघिल्लो वर्षको तुलनामा घटेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा राजस्व बाँडफाँडबाट तीन अर्ब २३ करोड रूपैयाँ प्राप्त भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ८४ करोड रूपैयाँ मात्रै प्राप्त भएको छ । यो अघिल्लो वर्षको तुलनामा १६.१९ प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षमा नेपाल सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ६२ करोड रूपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ । पहिलो चार महिनामा प्राप्त रकम वार्षिक लक्ष्यको २२.५३ प्रतिशत हो ।
प्रदेश सरकारको अन्य स्रोतबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्य स्रोतबाट चार अर्ब २० करोड रूपैयाँ प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५२ करोड रूपैयाँ मात्रै थियो । यसअनुसार अन्य स्रोतबाट प्राप्त आम्दानी ७०२.४१ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षमा अन्य स्रोतबाट तीन अर्ब ८२ करोड रूपैयाँ प्राप्त गर्ने वार्षिक लक्ष्य राखिएकोमा पहिलो चार महिनामै चार अर्ब २० करोड रूपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको १०९.७९ प्रतिशत हो ।
तथ्याङ्कअनुसार प्रदेश सरकारको कुल आय आर्थिक वर्ष २०८१÷८२ को पहिलो चार महिनामा १० अर्ब ३३ करोड रूपैयाँ थियो । आर्थिक वर्ष २०८२÷८३ मा १० अर्ब ५० करोड पुगेकोमा चालु आर्थिक वर्षमा १५ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ ।
आम्दानीमा वृद्धि देखिए पनि प्रदेशको कुल आयमा आन्तरिक राजस्वको हिस्सा न्यून छ । संघीय अनुदान र अन्य स्रोतबाट प्राप्त रकमले कुल आय बढाउन ठूलो भूमिका खेलेको देखिन्छ ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजीत थारुले प्रदेशको वित्तीय क्षमता बलियो बनाउन करको दायरा विस्तार, कर संकलन प्रणालीमा सुधार, करदाताको अनुपालन वृद्धि र नयाँ राजस्वका स्रोत पहिचानमा ध्यान दिनुपर्ने बताए ।
उनले संघीय अनुदान र राजस्व बाँडफाँडमा मात्रै निर्भर रहने अवस्था घटाउँदै प्रदेशको आफ्नै आयको हिस्सा बढाउने दीर्घकालीन योजना बनाइरहेको बताए ।

प्रदेश सरकारले उठाउने विभिन्न राजस्व शीर्षकमध्ये प्रशासनिक दण्ड, जरिवाना र जफतबाट लक्ष्यभन्दा बढी रकम संकलन भएको छ भने कृषि उत्पादनको बिक्रीबाट प्राप्त आम्दानी घटेको छ ।
चालु आर्थिक वर्षमा सवारीसाधन करबाट दुई अर्ब २६ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा पहिलो चार महिनामा ७१ करोड ६५ लाख ९७ हजार ३९७ रूपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ३१.७१ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा १३.५१ प्रतिशत वृद्धि भएको छ ।
चालक अनुमतिपत्र र सवारी शीर्षकमा ८३ करोड रूपैयाँ वार्षिक लक्ष्य रहेकोमा पहिलो चार महिनामा ३९ करोड ४० लाख ८९ हजार ५१९ रूपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ४७.४८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस शीर्षकमा १०६.९३ प्रतिशत वृद्धि भएको छ ।
घरजग्गा रजिस्ट्रेसन दस्तुरतर्फ एक अर्ब ५७ करोड रूपैयाँ वार्षिक लक्ष्य रहेकोमा २४ करोड ३२ लाख ८७ हजार २०९ रूपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको १५.५० प्रतिशत हो ।
वन क्षेत्रको आयतर्फ ७५ करोड रूपैयाँ वार्षिक लक्ष्य राखिएकोमा १९ करोड ८२ लाख आठ हजार ६५५ रूपैयाँ संकलन भएको छ । यो लक्ष्यको २६.४३ प्रतिशत हो ।
यातायात क्षेत्रको आम्दानीतर्फ २४ करोड ७० लाख २४ हजार रूपैयाँ वार्षिक लक्ष्य रहेकोमा सात करोड ८४ लाख ३१ हजार ९०० रूपैयाँ संकलन भएको छ । यो लक्ष्यको ३१.७५ प्रतिशत हो ।
प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा पाँच करोड ६० लाख रूपैयाँ वार्षिक लक्ष्य राखिएकोमा सात करोड ६३ लाख ८५ हजार ३८५ रूपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको १३६.४० प्रतिशत हो ।
व्यवसाय रजिस्ट्रेसन दस्तुरतर्फ आठ करोड ३० लाख ४९ हजार रूपैयाँ वार्षिक लक्ष्य रहेकोमा तीन करोड ३५ लाख छ हजार ६१९ रूपैयाँ संकलन भएको छ । अन्य प्रशासनिक सेवा शुल्कतर्फ आठ करोड २० लाख ४१ हजार रूपैयाँ लक्ष्य रहेकोमा दुई करोड ९३ लाख ६८ हजार ७७० रूपैयाँ संकलन भएको छ ।

दहत्तरबहत्तर बिक्री आयतर्फ ५१ करोड रूपैयाँ लक्ष्य रहेकोमा दुई करोड ३३ लाख ५२ हजार ३३८ रूपैयाँ संकलन भएको छ । यो वार्षिक लक्ष्यको ४.५८ प्रतिशत हो ।
कृषि उत्पादनको बिक्रीबाट प्राप्त आय भने घटेको छ । चालु आर्थिक वर्षमा यस शीर्षकमा एक करोड ७१ लाख १२ हजार रूपैयाँ वार्षिक लक्ष्य रहेकोमा ३८ लाख २३ हजार ५११ रूपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४२ लाख ५६ हजार ५३८ रूपैयाँ संकलन भएको थियो । यसअनुसार १०.१७ प्रतिशतले गिरावट आएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री थारुले प्रदेशको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम भइरहेको बताए । प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने राजस्व अधिकार पूर्ण रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पर्यटन क्षेत्रको विकास गरी पर्यटन शुल्कलाई राजस्वको स्रोतका रूपमा परिचालन गर्ने योजना रहेको बताए ।
उनका अनुसार स्थानीय तहको कर प्रशासनलाई व्यवस्थित तथा स्वचालित बनाउने र प्रदेश सरकारको सहयोगलाई व्यवस्थित गर्दै आन्तरिक राजस्वका स्रोत विस्तार गरिनेछ ।