© २०२३
भैरहवा, १० असोज ।
सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवाकी लक्ष्मी पुरीलाई अहिले कामको चटारो छ । घरभान्सामा सीमित रहने उनी आजभोलि जुत्ता–चप्पल बनाउन ब्यस्त छिन् । आफनो खुट्टामा आफैं उभिने सोच भएपनि कुनै अवसर नपाउँदा उनलाई घरमै थन्किएर बस्न्ु पर्ने बाध्यता थियो ।
सिद्धार्थनगर नगरपालिकाद्धारा वडा न २ मा सञ्चालित एक महिने जुत्ता ÷चप्पलको तालिममा सहभागी भएपछि उनको दिनचर्या परिवर्तन भएको हो । ३१ बर्षिय पुरी समूहमा लेडिज आइटमका चप्पलहरू बनाउने गर्छिन् । नगरपालिकाले मेसिन, फार्मा, हिटर लगायतका सामानहरू दिएपछि चप्पलका सोलको आइटम र कपडाहरू किनेर चप्पल बनाउँदै आएकी छिन् । सुरुमा तीन जना महिलाहरू मिलेर प्रति ब्यक्ति रु. दुई हजारका दरले उठाएर छ हजार रूपैयामा चप्पलहरू बनाउन सुरु गरेको पुरीले बताइन् । बनाइएका चप्पलहरू छिमेकी, साथी भाइहरूलाई बेच्दै आएको पनि उनले सुनाइन् । चप्पलको डिजाइन अनुसार मुल्य निर्धारण गरेको र बजारको मूल्य भन्दा सस्तोमा बेच्दै आएको पनि उनले बताइन् । अहिले उनी जाडोमा हुने प्रर्दशनीको लागि जुत्ता/चप्पल बनाउन ब्यस्त छिन् । काम गर्न त्यती कठिन नभए पनि सोचे अनुरूप बजार पाउन नसक्दा ब्यापार गर्न भने गाहो भएको उनको अनुभव छ ।
भैरहवामा जुत्ता, चप्पलको फयाट्री नै धेरै भएकोले आफुहरूको उत्पादनले बजार पाउन नसकेको समेत उनले गुनासो पोखिन् । थोरै लगानीमा चप्पल बनाउन सुरु गरे पनि एक बर्ष सम्म पैसा नबाडेर लगानी गर्ने सोच छ, उनको । तालिमले आत्मबलसँगै आत्मनिर्भरतातर्फ उन्मुख गराएको उनको बुझाई छ । अहिले समूहमा चप्पलहरू बनाएपनि पछि आफ्नै चप्पलको पसल खोल्ने सोच छ, उनको । आफनै खुट्टामा उभिन मन लाग्थ्यो, तर सीप थिएन । अहिले सीप सिकें, मैले सोचे जस्तै भयो– उनले खुसी हुँदै भनिन् ।
यस्तै सिद्धार्थनगर–६ किशोरपुरकी बबी केसीलाई पनि भ्याई नभ्याई छ तर उनको ब्यस्तता भने केही फरक छ । ३० वर्षिया केसी तीजको लागि चुरा पोते बनाउनमै ब्यस्त छिन् । केसी एउटा छोरीको आमा मात्र नभई एक बुहारी पनि हुन् । बिहानै उठेर भान्साको काम सकी छोरीलाई विद्यालय पठाएपछि मात्र घरको कामबाट फुर्सद पाउँछिन् । तालिमबाट धेरै कुरा सिक्न नपाएपनि अहिले युटुब हेरेर नयाँ नयाँ डिजाइनका चुरा र पोते बनाउदै आएको उनले खुलासा गरिन् । केसीसँगै आशा गुरुङ पनि चुरा पोते बनाउँदै आएकी छिन् ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा सोही वडामा १५ दिने चुरापोते बनाउने तालिम लिएपछि उनीहरू दुबै जना मिलेर १५ सय लगानी गरेर चुरापोते बनाएर बेच्न थालेका हुन् ।
घरको काम सकेर फुर्सदको समयमा मात्र चुरापोते बनाउदै आएको गुरुङले बताइन् । मिहिनेत गरी बनाइएका चुराहरू जोडीको १५० देखि २५० र पोतेहरू एक सय रूपैयादेखि १५० रूपैया सम्म डिजाइन अनुसार बेच्दै आएको गुरुङले बताइन् । सामान्य खालको पोते एक दिनमा २ देखि ३ वटा सम्म बनाउदै आएको र डिजाइन खालको एउटा पोते तीन दिनसम्म लाग्ने गरेको उनले बताइन् । साउनमा हरियोे पोते बनाएर राम्रै आम्दानी गरेको उनीहरूको भनाई छ । सिप सिकेर आत्मनिर्भर हुन पाउदा दुबै जना खुसी पनि देखिन्छन् । घरमै बनाउने अर्डर पनि आउन थालेको रहेछ । आम्दानी भएको रकम दुबै जनाले मिलेर बाडछौं र थप लगानी पनि गर्छाैं –आपसी सहकार्यबारे केसीले भनिन् । बजार ब्यवस्थापनमा नगरपालिकाले सहयोग गरिदिएको भए अझैं सहज हुने केसीको बुझाई छ ।
यस्तै सिद्धार्थनगर ३ की प्रेम कुमारी नेपालीको जिवन पनि अहिले फेरिएको छ । सिद्धार्थनगर नगरपालिका ३ बाट जुत्ता–चप्पल र अचार बनाउने तालिम लिएपछि नेपालीले सिकेको कुरा व्यवहारमै उतारेकी हुन् । तालिम लिएका महिलाहरूलाई नगरपालिकाले समूहमा आवद्ध गराएपछि धेरैको दिनचर्या फेरिएको पनि छ । नेपाली अहिले सिर्जनशील लघु उद्यमी महिला समुहको अध्यक्ष पनि छिन् । तालिममा सिकेको कुरालाई ब्यवसायिक रूपमा अगाडि बढाउन १६ जना महिलाहरू मिलेर समूह बनाइएको थियो । गत वर्ष सिर्जनशील लघुउद्यमी महिला समुहको दर्ता गरिएको थियो । नेपालीकाअनुसार, प्रत्येक ब्यक्ति एक हजार रूपैयाको दरले लगानी गरेपछि अचार बनाउने, जुत्ता–चप्पल लगायतका सामानहरू बनाउँदै व्यवसाय शुरु गरिएको हो । नगरपालिकाको २०७९ सालमा सम्पन्न मेला÷ महोत्सवबाट ६० हजार भन्दा बढी आम्दानी गर्न सफल भएको नेपालीले बताइन् । तालिम लिनु भन्दा पहिला काम नपाएर घरमै बसिन्थ्यो । मोवाइल हेरेर समय बिताइन्थ्यो । तर अहिले त्यस्तो छैन, सीपको पुरापुरी सदुपयोग गरिरहेकी छु । –आफनो कामप्रति गौरवान्तित हुँदै उनले सुनाईन् । नेपालीकाअनुसार, समुहमा भएका महिलाहरू जुत्ता– चप्पल र अचार बनाउँदै आएका छन् भने नगरपालिकाले प्रदान गरेको कोसेली घरबाट नै सामानहरू सटरमा राखेर बेच्दै आइएको छ । तर भने जस्तो व्यापार भने हुन सकेको छैन । भैरहवामा लाग्दै आएको आइतबार र बिहीबारे हाट बजारको दिनमा एक दिनमा २ देखि ३ हजार सम्म बिक्री हुने गरेको उनले जनाइन् ।
नगरपालिकाबाट लक्षित बर्गको तालिम लिएर आत्मनिर्भर भएका लक्ष्मी, बबी र प्रेम कुमारी हाम्रा समाजका उदाहरण मात्रै हुन् । स्थानीय सरकारले महिलाहरूलाई आत्मनिर्भर बनाउन लक्षित बर्ग अन्र्तगत विभिन्न रोजगार मुलक तालिमहरू दिदै आएको छ । सिद्धार्थनगर नगरपालिका सामाजिक बिकास शाखाका अनुसार, गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७९/ ८० मा वडा नम्बर २ र ६ मा नयाँ उद्यमी सिर्जना तर्फ सामाजिक परिचालन अभिमुखीकरण पि.आर. ए, समुह गठन, लोजेस्टिक सहयोग सामाग्री कायक्रममा २ सय ४४ जनाको सहभागिता रहेको थियो ।
सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरीका अनुसार, उद्यमशिलता बिकास तालिम चार समूहमा विभाजन गरी ८४ जनालाई प्रदान गरिएको छ । यस्तै सिप बिकास तालिम अन्तर्गत चुरापोते सिप बिकास तालिम तर्फ वडा नम्बर २ र ६ मा गरी २४ जना, जुत्ता चप्पल वडा नम्बर २ र ६ मा १२ जना, सिलाई कटाई सिप बिकास तालिममा १४ जना र आधारभुत ब्युटीपार्लर सिप बिकास तालिममा २८ जना महिलाहरूले तालिम लिएका छन् । यस्तै गरी प्रबिधी सहयोग मा २६ जना, लघु कर्जा पहुचमा ७८ जना, बजारीकरण तालिममा ७८ जना, उद्यम बिकास सहजकर्ता परिचालनमा २ जना रहेका छन् । यस्तै सिद्धार्थनगरपालिका वडा नम्बर ३ मा स्तरोन्नती जुत्ता– चप्पल सिप बिकास तालिम १६ जना महिलाले लिएका छन् । सिद्धार्थनगर नगरपालिकाले युवा लक्षित लोकसेवा तयारी कक्षा, बेरोजगार युवाहरूलाई लेखापालन तालिम, महिलाहरूका लागी खोजमुलक पत्रकारिता तालिम, विभिन्न सिपमुलक तालिमहरू जस्तै अगरबत्ती, स्यानटरी प्याड, ब्याग लगायत, महिला लक्षित कार्यक्रम अन्र्तगत जुत्ता–चप्पल बनाउने तालिम लगायतका बिभिन्न किसिमका लक्षित बर्गका तालिमहरू प्रदान गर्दै आएको छ । लक्षित बर्गका तालिमहरूले महिलाहरूलाई आत्मनिर्भर बनाइरहेको सिद्धार्थनगर नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरीले बताए । चालु आर्थिक बर्षमा पनि यस्तै कार्यक्रमले निरन्तरता पाउने उनको भनाई छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवले उद्यम बिकास तालिम अन्र्तगत वडामा ४० जनाको समूहलाई उनीहरूको रुचि अनुसार सिलाइकटाई, जुत्ताचप्पल, चुरापोते, ब्युटीपार्लर लगायतका तालिमहरू संचालन गरिएको बताए । तालिमप्राप्त महिलाहरूलाई थप एडभान्स तालिमहरू संचालन गर्ने योजना रहेको पनि वडा अध्यक्ष श्रीवास्तवले बताए । अध्यक्ष श्रीवास्तवले उद्यमी महिलाहरूलाई वडाले निशुल्क सटरको ब्यवस्थापन गर्ने, सर सामान बिक्री बितरणका लागि आवश्यक सहजीकरण गर्ने बताए । उनले बिना धितो बंैक तथा बित्तिय संस्थाले लगानी गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
यस्तै सिद्धार्थनगर नगरपालिका नगर उपप्रमुख उमा अधिकारीले लक्षित बर्गका महिलाहरूले उत्पादन, निर्माण गरेको सामाग्री घरमै उपयोग भएको र छरछमेकमा बेचेर पनि आर्थिक उपार्जन गर्न सकेको बताइन् । आफुले उत्पादन गरेका सामानहरू कोसेली घरमा ल्याएर सजिलै बेच्न सकिने भएकोले उद्यमी महिलाहरूलाई कोसेली घरमा ल्याएर सामान बेच्न समेत अधिकारीले आग्रह गरिन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सिप सिकेका लक्षित बर्गका महिलाहरू संघको सम्पर्कमा आए संघले बजार ब्यवस्थापन लगायतका कुरामा समन्वय र सहयोग गर्ने विश्वास दिलाए । आगामी दिनमा नगर र संघसँगै मिलेर तालिम संचालन गर्ने योजनाका साथ नगरमा पत्र पठाइसकेको समेत उनले बताए । श्रेष्ठले भने झैं उत्पादन र सिर्जनशिलतालाई बजारीकरण गर्न जरुरी रहेको छ ।