© २०२३
दाङ, ६ असोज ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल र नेपालकालागी बेलायती राजदुत रोब फेनबिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरी प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ । भेटमा मन्त्री खनालले सुरक्षित मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अवस्था लगायतको सुधारका लागि प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताए । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको मन्त्री खनालले बताए । प्रदेश भित्रका अस्पतालको पूर्वाधार विकास र उपचारमा आबश्यक पर्ने उपकरण सहयोगका बारेमा उनीहरुबिच छलफल भएको छ । मन्त्री खनालले बेलायतले नेपालमा गरिरहेको सहयोगका लागि धन्यवाद दिदै भेटले दुई पक्षीय सम्बन्धलाई अझ प्रगाढ पार्ने विश्वास व्यक्त गरे ।
भेटका क्रममा बेलायती राजदुत रोब फेनले प्रदेश सरकारको स्ुशासन र शासकीय प्रणाली, स्वास्थ्य सेवा लगायतका बारेमा चासो राखेका थिए । राजदुत फेनले नेपालको पूर्वाधार र मानवीय विकासका लागि बेलायत सरकारको सहयोग रहदै आएको स्मरण गर्दै प्रदेश र स्थानीय सरकारलाई आबश्क परेको बेला सहयोग गर्न सधै तयार रहेको बताए ।
राजदुत फेनले नेपालको स्वास्थ्य सेवा सँगै प्रदेश भित्रको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आबश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताए । भेटमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. विनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतिको बारेमा जानकारी दिएका थिए । भेटमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी लगायतको सहभागिता थियो ।