© २०२३
भैरहवा, २६ भदौ । तिलोत्तमा– १४ बस्ने बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भिम अस्पताल पुर्याइयो। ३५ बर्षिय बनिया गत साउन ७ गते अपरान्ह अचेत भएपछि अकस्मात अस्पताल पुर्याइनुपर्ने अवस्था सिर्जना भयो । शुरुमा बेहोस किन भएकी हुन् भन्ने पत्ता लगाउन पनि डाक्टरलाई गार्हो पर्यो । बनियालाई अचेत अवस्थामा अस्पताल लगिएको यो छैंटौ पटक हो । अचेत हुने यो समस्याले डाक्टरलाई पनि अचम्मित तुल्यायो । डाक्टरको सोधपुछ पछि पत्ता लाग्यो– बनियाले गर्भवतीपछि गरिनुपर्ने नियमित स्वास्थ्य परिक्षण एक पटक पनि गरेकी थिइनन् । सामान्य स्वास्थ्य परीक्षणपछि उनलाई मेडिकल कलेज भैरहवा रिफर गरियो । आमा र बच्चा दुबैलाई जोगाउनु पर्ने बाध्यता थियो । डाक्टरको अथक प्रयासले बच्चा निकालेर आइसियुमा त राखियो तर दुर्भाग्य बचाउन सकिएन । थकीत अनुहार अनि गहभरी आँसुमा उनले भनिन्– ‘यस पाली छोरा थियो, मेरै लापरवाहीले त्यो पनि गुमाएँ । समयमै गर्भ चेक जाँच गराएको भए, आज यस्तो अवस्था हुने थिएन ।’
छोरा गुमाउनुको पीडा थाम्न नसकी उनी सुक्क सुक्क रुन थालिन् । लामो सुस्केरासँगै आसु पुछ्दै आफूलाई सम्हाल्न खोजीन् । पहिलापनि ५ पटक यस्तै भएर दुख पाएँ, फेरी उस्तै भयो – उनले बिगतको वास्तविकता पनि ओकलीन् । पहिल ानियमित चेकजाच गराउँदा पनि यो समस्या दोहरिएपछि यसपाली श्रीमान श्रीमतीको सल्लाहमै चेकजाँच नगराइएको उनको भनाई थियो । यसपाली समयमै अस्पताल गएको भए के थाहा ! यस्तो हुने थिएन कि ! – अँध्यारो मुख बनाउदै उनले भनिन् ।
यस्तै पहिलो पटक गर्भवती भएकी मर्चवारी– ३ की उषा पासी पेट दुखेर साउन १० गते अमवा स्वास्थ्य चौकी पुगिन् । गर्भमा रहेको बच्चाको धडकन चलेको थाहा नभएपछि स्वाथ्यचौकीले सोहि दिन भिम अस्पताल भैरहवा रिफर ग¥यो । पिडामा छट्पटाइरहेकीे पासीको भिडियो एक्सरे गर्दा बच्चा पेटमै मरेको देखियो । बच्चा पाउने समय भदौ २० गते भए पनि बच्चा पेटमा मरेकाकारण औषधी दिएर डेलिभरी गराइयो । उनको मृत बच्चा छोरा थियो । पासीले नियमित चेकजाँच नगराउदा यो समस्या देखिएको डाक्टरको भनाइ थियो ।
मन खिन्न पार्दै उनले भनिन् –अरू बेला त चेक गराएको थिएँ, तर नियमित चेकजाँच हुन सकेन । समय समयमा चेकजाच गराएको भए बच्चाको अवस्था के कस्तो छ, थाहा हुने थियो, यो दिन आउने थिएन कि ! –उनले पछुतोयुक्त स्वरमा विस्तार गरिन् । बनिया र पासी हाम्रो समाजका उदाहरण पात्र मात्रै हुन् । अझंै पनि हाम्रो समाजमा गर्भवती हुँदा नियमित चेकजाँच गराउन नजाने महिला पनि छन् । गर्भवती महिलाले नियमित चेकजाँच नगराउँदा बिभिन्न किसिमका समस्याहरू झेल्दै आएपनि स्वस्फुर्त स्वास्थ्य चौकी किन पुग्न सकिरहेका छैनन् ? जब कि नियमित स्वास्थ्य परीक्षण गराउँदा सरकारले एक हजार रूपैया यातायात खर्च र आठ सय रूपैया प्रोत्साहन भत्ता स्वरूप नगद रु एक हजार आठ सय रूपैया सुत्केरी हेरचाह भत्ता दिँदै आएको छ ।
रूपन्देही सिद्धार्थनगर नगरपालिका भैरहवास्थित भिम अस्पतालको तथ्यांकअनुसार आ.ब. २०७९ साउन एक देखि २०८० असार सम्ममा नियमित चेकजाँच गराउने गर्भवती महिला पाच सय ६४ जना रहेका छन् । यस्तै पहिलो पटक जुनसुकै समयमा चेकजाँच गराउने गर्भवती महिलाको संख्या पाच हजार एक सय १० रहेको छ । यस्तै १२ हप्ताको गर्भ चेकजाच गराउने एक सय ६३ जना, आठ पटक (प्रोटोकलअनुसार) चेकजाँच गराउने गर्भवती महिला ३५ जना मात्रै छन् । भिम अस्पताल भैरहवामा आ.ब २०७९ साउन एक देखि २०८० असार मसान्त सम्ममा दुई हजार आठ सय १८ जना गर्भवती महिलाले बच्चा जन्माएका छन् । जसमध्ये चार पटक नियमित चेकजाँच गराएका तीन सय २४ जनाले मात्र आमा सुरक्षा कार्यक्रमअन्र्तगत एक हजार यातायात खर्च र आठ सय सुत्केरी प्रोत्साहन भत्ता गरी एक हजार आठ सय रूपैया पाएका छन् । यो तथ्यांकले के देखाउँछ भने नियमित चार पटक चेकजाच गराउने गर्भवतीको महिलाको संख्या अझैं पनि न्युन छ ।
भिम अस्पताल भैरहवाका अस्पताल नर्सिंङ निरिक्षक तथा प्रसुती विभाग इन्चार्ज सावित्री यादवले गर्भवती महिलाले नियमित चेकजाँच गराउनु पर्ने बताउँछिन् । उनकाअनुसार, नियमित चेकजाँच गराउँदा के कस्तो समस्या रहेको छ, पत्ता लगाउन र उपचार प्रक्रिया अपनाउन सकिने हुन्छ ।
एकपटक पनि चेकजाँच नगराइ समस्या सिर्जना भएपछि मात्रै अस्पताल जानेहरूको पनि कमी छैन । जसकाकारण थप समस्या सिर्जना हुने गर्छ । विशेषतः स्वास्थ्य परीक्षण नगर्दा नै धेरै महिलाले बच्चा गुमाउनु परेको यादवको अनुभव छ । एकपटक पनि स्वास्थ्य परीक्षण नगराएकाहरू नै अचानक बेहोस भई अस्पताल आउने गरेको इन्चार्ज यादवले बताइन् । अचेत अवस्थाका गर्भवती महिलालाई ५ देखि १० मिनेटभित्रै औषधी नदिदा आमा र बच्चा दुबैको मृत्यु हुन सक्ने यादवको भनाई थियो । अस्पतालकाअनुसार, धेरै जसो गर्भवती महिलाले नियमित चेकजाँच नगराउदा गर्भ अवस्थामा बच्चा खेल्ने पानी बगिरहदा थाहा नपाएर पानीको मात्रा कम भएर बच्चा खेर गएको र पेटमा मरेको जस्ता समस्या धेरै आउने गरेको छ । नियमित चेकजाँच नहुँदा समस्या पत्ता लगाउनै समय लाग्ने भएकाकारण पनि धेरै आमाले आफनो सन्तान गुमाउनु परेको छ ।
भिम अस्पताल भैरहवामा आर्थिक बर्ष २०७९/ ८० मा जन्मेको सात दिन भित्रका ४ जना शिशुहरूको मृत्यु भएको छ भने सोहि आर्थिक बर्षमा एक जना आमाले ज्यान गुमाउनु परेको अस्पतालले जनाएको छ । यता जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार, आर्थिक बर्ष २०७९÷ ८० मा रूपन्देहीका १० जना सुत्केरी महिलाले ज्यान गुमाएका छन् । यस्तै आर्थिक बर्ष २०८०/८१ को भदौ १८ गते सम्म कुनै पनि गर्भवती तथा सुत्केरी महिलाको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७९/ ८० मा रूपन्देही जिल्लामा रहेका अस्पतालमा ८८ शिशुहरूको मृत्यु भएको छ भने आर्थिक बर्ष २०८०/ ८१ भदौ महिनाको १८ गते सम्ममा २८ दिनभित्रका दुई सय ९७ जना शिशुहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । यस्तै भिम अस्पताल नर्सिङ इन्चार्ज भगवती रानाले गर्भवती हुँदा अझैं पनि कतिपय महिलाहरू नियमित स्वास्थ्य परीक्षण गराउन आनाकानी गरिरहेको बताउँछिन् । नियमित स्वास्थ्य परिक्षण गराइनु पर्छ भन्ने कुरा स्वयं गर्भवती महिलालाई थाहा नभएर पनि हुन सक्ने रानाको भनाई छ ।
भिम अस्पताल प्रमुख डा.सकुन्तला गुप्ताले गर्भवती महिलाहरूले समयमै स्वास्थ्य परीक्षण नगराउँदा स्वास्थ्य समस्या देखिएको स्वीकारिन् । गुप्ताकाअनुसार, नयाँप्रोटोकल अनुसार आठ पटक चेकजाच गराउने गर्भवती महिलाहरू अझैं कमै छन् । जवकि गर्भवती महिलाले पहिलो पटक १२ हप्ता, दोस्रो पटक १६ हप्ता, २० देखि २४ हप्ता, २८ हप्ता, ३२ हप्ता, ३४ हप्ता, ३६ हप्ता र ३८ देखि ४० हप्ता गरि ८ पटक स्वास्थ्य परीक्षण गराइनु पर्दछ ।
गर्भ रहेको थाहा हुुने बित्तिकै स्वास्थ्य परीक्षण गर्नुपर्ने गुप्ताको सल्लाह छ । कहिले काहीं बच्चा गर्भ भन्दाबाहिर बसेको नि हुन सक्छ, त्यो अवस्थामा धेरै रगत बग्नु जस्ता समस्या हुने भएकोले समयमै चेकजाच गराउँदा गर्भको सबै कुरा थाहा हुने प्रमुख गुप्ताको बुझाई छ । उनकाअनुसार पहिलो पटक शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरू पनि चेकजाँच नै नगराइ समय घर्कीसकेपछि अस्पताल आएको उदाहरण समेत छ । पछिल्लो समय गर्भवती महिलाको नियमित चेकजाँच तथा स्वास्थ्य परीक्षणका लागि बिभिन्न सञ्चारमाध्यममार्फत सचेतना फैलाउने प्रयासहरू भएपनि यस्ता घटना दोहरिन भने छाडेका छैनन् । स्वास्थ्य सचेतनासँगै थप कार्यक्रम लागु गर्नु पर्ने आवश्यक्ता देखिन्छ । तर स्थानीय सरकारले के गरेको छ त ? भन्ने सन्दर्भमा सिद्यार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी नियमित गर्भवती जाँच गराउने महिलाहरूलाइ नगरले सुत्केरी कोसेलीभेट दिदै आएको बताउँछिन् । कोसेलीभेटले मधेशी समुदायका गर्भवतीमहिलाहरूलाई नियमित चेकजाँच गराउन पे्ररित गरेको र अस्पतालसम्म पुग्न मद्दत गरेको उपप्रमुख अधिकारीले दाबी गरिन् । । गर्भवतीमहिलाहरूको घरघरमै पुगेर नियमित स्वास्थ्य परिक्षण गर्दै महिनामा एक पटक सचेतनामुलक कार्यक्रम गर्दै आएको पनि उनले जनाइन् ।
सिद्यार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिता देवी न्यौपानले सिद्धार्थनगर नगरपालिकामा ५ वटा आधारभुत स्वास्थ्य संस्थाबाट गर्भवती तथा सुत्केरी महिलाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिइन् । गर्भवतीमहिलाहरू समयमा चेकजाच गराउँन नआउँदा स्वास्थ्य संस्थाबाट नै फोन गरेर बोलाउने गरेको पनि उनले बताइन् । उनका अनुसार नगरपालिकाको पहलमा भिम अस्पतालमा हप्ताको सोमबार र बिहीबार संस्थागत क्लिनिकबाट गर्भवतीहरूलाई मात्र चेकजाच गर्दै आइएको छ । नगरभित्र एक सय जना स्वास्थ्यस्वयं सेविकाबाट सेवा दिदै आइएकोले पछिल्लो समय गर्भवती महिलाहरू नियमित चेकजाँच गराउन आधारभुत स्वास्थ्य संस्थामा आएको उनले उल्लेख गरिन् ।
मधेसी समुदायका अगुवा रमेश प्रसाद यादवले ग्रामिण भेगमा स्वास्थ्यचौकीहरू भएपनि अझैं केहि प्रतिशत महिलाहरू नियमित चेकजाँच गराउन नगएको स्वीकार्छन् । गर्भवतीअवस्थामा रगत देखि भिडियो एक्सरे लगायत धेरै कुराको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुँदा कतिपय गर्भवतीमहिलाहरू आर्थिक अभावले पनि नियमित स्वास्थ्य परीक्षण नगराएको हुन सक्ने यादवको भनाई छ । गर्भावस्थामा नियमित स्वास्थ्य परीक्षण नगर्दा धेरै महिलाहरूले बिभिन्न समस्याको सिकार हुुनु परिरहेको विभिन्न घटनाक्रमले देखाएको छ । तसर्थ नियमित चेकजाँच गराएर बिभिन्न समस्याबाट बच्नु र बचाउनु गर्भवती महिलाको पहिलो र प्रमुख दायित्व हो ।