© २०२३
गुल्मी, १९ भदौ । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले वडा तहमै पुगेर अपांगता परिचयपत्र वितरण तथा नवीकरण शुुरु गरेको छ । अपांगता भएका व्यक्तिलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले परिचयपत्र वितरण तथा नवीकरण अभियान शुरु गरेको हो ।
पालिकाभित्रका ६ वटै वडामा पुगेर अपांगता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरेर परिचयपत्र वितरण तथा नवीकरण गर्ने कार्यक्रमको शुभारम्भ गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताईन । पालिकावाट यसअघि वितरण भएका परिचयपत्रको दुरूपयोग भएको भन्ने विषयमा जनस्तरबाट व्यापक जनगुनासो आएपछि पालिकाले वडातहमै पुगेर वास्तविक अपांगताको पहिचान गरेर मात्र परिचयपत्र वितरण शुरु गरेको उपाध्यक्ष कुँवरले जानकारी दिएकी छन् ।
अपांगता नभएका व्यक्तिले पनि यसअघि परिचयपत्र बनाएको गुनासो आएकाले उक्त परिचयपत्र खोजेर गर्न निःशुल्क शिविर समेत सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । अध्यक्ष खड्काले बास्तविक अपांगता भएकाहरूलाई परिचयपत्र दिलाउन र पहुँचका आधारमा परिचयपत्र लिन खोज्नेलाई नदिन समेत आग्रह गरेका छन ।
पालिकाले पहिलो दिन एक जनालाई (क) वर्गको र तीन जनालाई (ख) वर्गको परिचयपत्र वितरण गरेको छ । इस्मा पालिकाभित्र ७८ जना (क) वर्गका र १ सय ७५ जना (ख) वर्गका अपांगता रहेका छन । यसपटक गाउँपालिकाले स्वास्थ्य शिविरबाट पहिचान गरेर मात्रै परिचयपत्र वितरण गर्ने भएको छ । परिचयपत्र वितरणमा पालिकाले जनगुनासाको मध्यनजर राख्दै परिचयपत्र वितरणमा पहिले भन्दा केही कडाई गरेको छ ।