Butwal Today

बाणगंगा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डे

२६ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा ईश्वरीप्रसाद पाण्डेले जिम्मेवारी सम्हालेका छन् । नगरपालिकामा आइपुगेका पाण्डेलाई नगरप्रमुख, उपप्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका छन् ।

नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, नगर प्रवक्ता विष्णुप्रसाद पौडेललगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा नगरप्रमुख तथा कर्मचारीहरूले पाण्डेलाई खादा तथा पुष्पगुच्छासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे सोमबारदेखि कार्यालयमा उपस्थित भएका हुन् । यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत रहेका पाण्डे नगरपालिकामा आएसँगै प्रशासनिक कामकाजले थप गति लिने अपेक्षा गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको केही दिनअघि सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो ।

स्वागतका क्रममा नगरप्रमुख चक्रपाणी अर्यालले नगरपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै, उपप्रमुख रिता कुमारी चौधरीले नगरपालिकाको विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै सबै पक्षसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् ।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले नगरपालिकाको प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकामा नियमित प्रशासनिक कामकाज थप व्यवस्थित हुने, रोकिएका कामले गति लिने तथा विकास निर्माणका योजनाको कार्यान्वयनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?