© २०२३
बुटवल, १८ भदौ ।
नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको अध्यक्ष पदमा सहमति नभएपछि चुनावी मैदानमा भिडेका छन् पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाल । राजनीतिक जीवनमा उनीहरुको आ–आफ्नै परिचय छ । पार्टी नेतृत्वको अनुरोधलाई बेवास्ता गरेर दुवै जना प्रदेशको नेतृत्व लिने गरी होडबाजीमा छन् । तर, कसको पोल्टामा नेतृत्व जान्छ यसै भन्न सक्ने अवस्था छैन ।
रिजाल साविक राप्ती क्षेत्रका हुन् भने कँडेल साविक लुम्विनीका । कतिपयले भूगोलको लडाइँले पनि काम गर्नसक्ने आँकलन गरेका छन् । तर, सहजै अनुमान गरेजस्तो यसै हुने अवस्था देखिदैन । चुनावी मैदानमा रिजाल र कँडेलका समर्थकहरु विभाजित छन् ।
पार्टी केन्द्रीय उपाध्यक्ष बुटवलका विष्णु पौडेल र महासचिव दाङका शंकर पोखरेलले आ–आफ्ना गुटका साथीहरुलाई ढाडस दिएपछि भूगोलका नेताहरु विभाजित भएको देखिन्छ । त्यतिमात्र होइन्, रिजाललाई एमाले केन्द्रीय सदस्यद्वय रुपन्देहीका भूमिश्वर ढकाल, अर्घाखाँचीका चेतनारायण आचार्य र कपिलवस्तुका बलराम अधिकारीले जवर्जस्ती चुनाव लड्न पेलान गरेकोे एमाले उच्च स्रोतले जनाएको छ । गुटवन्दी छैन भनेर नेताहरुले सार्वजनिक अभिव्यक्ति दिएपछि कार्यकर्तास्तरमै गुट झांगिएको देखिन्छ ।
रिजाल को हुन् ?
गाउँ संगठन कमिटीदेखि जिल्लासम्मको नेतृत्व लिएर कुशल जिम्मेवारी पुरा गरेको दावीसहित आफूले अहिले प्रदेशको नेतृत्व लिन चाहेको उनको प्रतिक्रिया छ । ‘एउटा कर्मचारी खरदारदेखि सचिव, मुख्य सचिवसम्म आफूलाई अपग्रेट गर्न चाहान्छ’, रिजालले भने,‘मैले राजनीतिमा पनि क्रमवद्ध रुपमा नेतृत्व लिन चाहेको हो ।’
रिजाल ०३७ सालदेखि पार्टी कमिटीमा संगठित छन् । उनले तत्कालीन गाउँकमिटी, इलाका, अखिल र जिल्ला कमिटीको अध्यक्षको नेतृत्व गरिसकेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपनि त्यसलाई छाडेर प्रदेशको नेतृत्व लिने दौडमा रिजाल लागेका हुन् ।
‘पार्टीको आन्तरिक विरोधलाई समाधान गर्ने, अराजकतालाई अन्त्य गर्ने र अनुशासित रुपमा संगठित गर्ने योजना छ’, ५८ वर्षीय रिजालले भने, ‘प्रदेशमा एमालेलाई घरघरमा पु¥याएर अवका सवै निर्वाचनमा पहिलो बनाउने लक्ष्य छ ।’
को हुन् कँडेल ?
चुनौतीको घडीमा तदर्थ कमिटी हुँदै प्रदेशको नेतृत्व गरेको र एकपटक अधिवेशनबाट निर्वाचित भएर पुनः नेतृत्व गर्ने संकल्प रहेको अर्का आकाँक्षी राधाकृष्ण कँडेलले प्रतिक्रिया दिए । उनी लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशिल छन् । जिल्ला, साविक अञ्चल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा छन् । पाल्पा निवासी कँडेलको बसोवास अहिले बुटवलमा छ ।
दुई÷दुई पटकका स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पु¥याएको र देशकै उत्कृष्ट प्रदेश कमिटीको रुपमा स्थापित गरेको अनुभवले पनि आफू पूनः निर्वाचित हुनुपर्ने उनको दावी छ । अहिले लुम्विनीका २७ स्थानीय तहमा एमालेको नेतृत्व, ३९ वटामा उपाध्यक्ष निर्वाचित छन् । ११ जिल्लामा प्रतिनिधिसभा सदस्य, २ जिल्लामा पार्टीको समर्थनमा सांसद् र १८ जना सांसद् प्रदेशमा निर्वाचित भएका छन् । लुम्विनी प्रदेश मतका हिसावले पनि अरु पार्टी भन्दा बलियो बनाएको उनले बताए ।
‘कामको हिसावले पनि म दोहोरिनुपर्छ भन्ने हो’, कँडेलले भने, ‘साथीहरु बुझ्ने हुनुहुन्छ, अवश्य साथ दिनुहुनेछ ।’ कँडेलले पनि पाल्पाबाट विद्यार्थी जीवनदेखि राजनीति थालेका हुन् । विद्यार्थीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष, अध्यक्ष, पार्टीको इलाका सेक्रेटरी, जिल्ला कमिटी सदस्य हुँदै दुई÷दुई पटक पार्टीको नेतृत्व गरेको उनमा अनुभव छ । उनी पूर्व प्रतिनिधिसभा सदस्य पनि हुन् ।
अधिवेशनका लागि प्रदेशका १२ वटै जिल्लाबाट १ हजार ४ जना प्रतिनिधिले मतदान गर्नेछन् ।