© २०२३
लमही, १६ साउन ।
पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८०÷०८१ का लागि ९ वटा पुलमा बजेट बिनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका रुपमा रहेको गंगट पुग्न विभिन्न खोलामा पुल निर्माण हुनेछन् । जहाँ यसअघि पुल नहुँदा बर्षातको समयमा आवतजावत ठप्प नै हुने गरेको थियो । बबई गाउँपालिकाको हापुरेदेखि गंगटे पुग्न २३ किलोमिटर मात्रै हो । तर, वर्षातमा सडकबीचका खोलाहरुमा पुल नहुँदा उपचारलगायत अन्य कार्य गर्न एक दिन पैदल हिड्नु पर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गरी हापुरे–गंगटे सडकमा तीन वटा खोलामा पुल निर्माण हुने भएका छन् ।
रिम खोलीमा बेलीवृज पुलका लागि ५० लाख, तीन तलेमा बेलिबृज पुल निर्माणका लागि ५० लाख, भांगावारीमा बेलिबृजका लागि ५० लाख बजेट छुट्टयाएको मन्त्री मास्कीले बताए । त्यस्तै तुलसीपुर देखि हापुर जोड्ने सडक अन्तर्गत पर्ने तुलसीपुर–१ भमके खोलमा पुल निर्माणका लागि १ करोड, शान्तिनगर ३ पातेटाकुरा खोलामा पुल निर्माणका लागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्कीपुल निर्माणका लागि १ करोड, बबई गाउँपालिका अन्तर्गत राजीखरे खोलामा पुल निर्माणका लागि ७५ लाख बजेट परेको छ । त्यस्तै ट्वाङखोलामा डिपीआरसहित पक्की पुल निर्माणका लागि १ करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणका लागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणका लागि १ करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए ।
यी खोलामा पुल नहुँदा वर्षातको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो । खोलामा पानीको बहाब बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । तर, अब ती खोलामा पुल बनेपछि ती समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।