© २०२३
तुलसीपुर, १४ साउन ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर स्थित ग्वारखोला जलाशयको काम आगामी बर्षदेखि सुरु गर्ने गरी तयारी थालेको बताएका छन् ।
विजौरी उद्योग बाणिज्य संघले आइतबार गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री मास्कीले प्रदेशको गौरबको आयोजनाका रुपमा उक्त जलासयलाई अघि बढाएको समेत बताए । “ग्वारखोला हाइड्याम्पलाई प्रदेशको गौरबको योजनाका रुपमा अघि बढाएर आगामी बजेटबाट टेण्डरमा लैजाने गरी तयारी गरेका छौं”, उनले भने, “अहिलेको बजेटबाट सम्भाव्यता अध्ययनको काम हुन्छ ।”
प्रदेश सरकारले हाल सम्भाव्यता अध्ययनका लागि एक करोड रुपैँया छुट्याएको छ । सोही जलाशय निर्माण भएमा यस क्षेत्रको सिंचाईको समस्या हल हुने उनले बताए । त्योसंगै खानेपानी, पर्यटनलगायत सोही क्षेत्रको जीवनस्तर सुधारमा टेवा पुग्ने उनको भनाई थियो ।
साथै उनले विजौरी बजारको थप विकासका लागि प्रदेश सरकारले पहल थालेको बताए । थारु राजा दंगीशरणले राज गरेको सुकौराकोटको इतिहास जोगाउनका लागि पनि प्रदेश सरकारले बजेट बिनियोजन गरेको उनले बताए । “राजाले राज गरेको स्थानका थुपै्र अवशेषहरु छन, त्यसलाई हामीले विकास गर्नुपर्छ, त्यो भनेको इतिहास हो”,उनले भने, “त्यसका लागि अहिले पनि आफूले बजेट छुट्याएको र आगामी बर्ष पनि छुट्याइने छ ।”
थारु समुदायले नै दाङको मानव सभ्यताको इतिहास जोगाएको भन्दै थारु समुदायको इतिहासलाई जोगाउनु पर्ने उनको भनाई थियो । त्यस्तै उनले तुलसीपुर १९ स्थित संग्राम ब्यारेकमा जनयुद्धका घाइते, अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्याहार केन्द्र स्थापना गर्नकालािग सम्भाब्यता अध्ययनको काम भइरहेको समेत बताए ।
संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ का अध्यक्ष प्रेमनाथ योगी, पूर्व सल्लाहकार विष्णु चौधरीलगायतलो सहभागिता थियो ।