© २०२३
बुटवल, १२ साउन । ‘रगत तथा प्लाज्मा नियमित दान गरौ, जीवन बचाउने कार्यमा ऐक्यबद्ध हौ ।’ भन्ने नारासहित ५७ औ रक्त संचार दिवसको अवसर पारेर बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखा र लायन्स क्लब अफ बुटवल सिद्धार्थको आयोजनामा रक्तसंचार केन्द्र, ब्लड बैक बुटवलमा गरिएको रक्तदान कार्यक्रममा ७८ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक एकराज पौडेलले बताए ।
कार्यक्रमको एक समारोहका बिच लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि नेपालका फस्ट फिडिसि पुरुषोत्तमभक्त प्रधानाङले रक्तदातालाई ब्लड बैक हस्तान्तरण गरि सुभारम्भ गरेका थिए । लायनबादलाई आत्मसात गर्दै सामाजिक हितलाई आफनो कर्म बनाउने लक्ष्यसहित सबै सदस्यहरु लाग्नुपर्ने उनले सुझाव दिए । विभिन्न समयमा देखिने रगत अभावलाई रुपन्देहीको रक्तदाताहरुको प्रयासबाट समस्या टार्न सफल भएको भन्दै यो अभियानमा लायन्स क्लब सधै साथ रहने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वलाई नया युवा पिढीमा बुझाउन सकेमात्र अभाव कम गर्न सफलता मिल्ने बताए । रक्तदाताहरुको अगुवाईमा समयको माग अनुसार सामुदायिक ब्लड बैकको अवधारणा अगाडी बढाएको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष नारायण बिक्रम कुवरले स्थापनाको छोटो समयमा आफुहरु धेरै राम्रा र समुदायस्तरका कामहरु गर्न सफल भएको बताए । अघिल्लो वर्ष निशुल्क मधुमेह परिक्षण संचालन गरि सबैभन्दा धेरै जाच गर्न सफल भएको उनले दाबी गरे । दीर्घरोग पहिचान गर्न सकेमा पनि आधा निदान हुने भन्दै समयमा नै रोगका पहिचान र उपचारको परामर्श दिदै आएको उनले बताए ।
क्लबबाट रक्तदानको महत्वबारे अभिमुखिकरण कायृक्रम गरि सचेतना जगाउने काम भएको सचिव सुन्दर श्रेष्ठले बताए । आरिराङ ग्लोबल एकेडेमीमा एकसय बढि युवाहरुलाई रक्तदान र यसको महत्वबारे अभिमुखीकरण कार्यक्रम गरिएको उनले बताए । यसैगरि पहिरो क्षेत्रमा रहेको लक्ष्मी पार्कमा एक सय बढी टिक, असोकासहित फलफुलको बिरुवाहरु वृक्षारोपण समेत गरिएको उनले बताए ।