© २०२३
सुनवल, १२ साउन ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शुक्रबारदेखि दुई पाङग्रे सवारी साधनको चालक अनुमति पत्र (लाईसेन्स) का लागि ट्रायल परीक्षण सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय नवलपरासीद्वारा आयोजित कार्यक्रममा ट्रायल परीक्षणको लुम्बिनी प्रदेश सभा सदस्य वैजनाथ कलवारले ट्रायल रो मा मोटरसाईकल चलाएर उद्घाटन गरे । कार्यक्रममा बोल्दै कलवारले आफ्नो निर्वाचन क्षेत्र भित्र पुलपुलेसा र सडकको समस्या नहोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । त्यसका लागि जिल्लाका धेरै स्थानमा पुल र सडकका लागि करोडाँै बजेट विनियोजन भएको पनि जानकारी दिए ।
आफू यातायात क्षेत्र र उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जिल्लामा यातायातको चौतर्फी पहुँच विस्तार गर्ने र नवलपरासीलाई औद्योगिक करिडोर बनाउने सपना पूरा हुँदै गएको प्रदेश सभा सदस्य कलवारको भनाई छ । साँसद कलवारले तीन तहका सरकार बीचको आवश्यक समन्वयबाट जिल्लामा विकासको गति अगाडि बढाउन सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतले बोल्दै सवारी अनुमति पत्र (लाइसेन्स) वितरणमा बिचौलियाको घुसपैठ हुन नदिन सबै चनाखो हुनुपर्नेमा जोड दिएका थिए ।
परासीबाटै सेवा पाएपछि लाईसेन्स परीक्षाका लागि बुटवल धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । बुटवलमा अत्यधिक भिडका कारण धेरैले लाईसेन्स निकाल्न सास्ती खेप्दै आएका थिए । यस क्षेत्रमा ट्रायल परीक्षाको व्यवस्था नहँुदा नजिकमा बुटवल मात्रै विकल्प थियो ।
दुई पाङ्गे्र सवारी चालक अनुमति पत्रको परीक्षाको शुभारम्भ पहिलो दिन शुक्रबार बिहान ५० जनाको लिखित परीक्षाबाट सुरु गरिएको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासीका प्रमुख श्याम कुमार पौडेलले बताए । उनका अनुसार अब आइतबारदेखि बिहीवार सम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको छ । कार्यालयले रामग्राम–४ महेशपुर रोडमा जग्गा भाडामा लिएर कार्यालय सहित ट्रायल परीक्षणको व्यवस्था गरेको हो । निकट भविष्यमै चार पाङ्ग्रे सवारीको पनि ट्रायल सुरु गर्ने कार्यालयको तयारी छ ।