© २०२३
दाङ, १० साउन ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन निःशुल्क गर्ने नयाँ कार्यक्रम मार्फत व्यवस्था मिलाएको हो । आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोध भर्ना गर्ने गरी कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो कार्यक्रम लागु गर्ने सात वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश पहिलो हो । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताए । कार्यविधि तयार गरेर यो कार्यक्रम लागु गरिने स्वास्थ्यमन्त्री खनालको भनाई छ । कर्नियाको निःशुल्क अप्रेसन गर्ने सहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रकृया सुरु भैसकेको मन्त्रालयले जनाएको छ ।
विभिन्न कारणले आँखाको ज्योती गुमाउन पुगेकाहरुका लागि यो कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताए । लुम्बिनी प्रदेशमा आँखाको ज्योती गुमाएका धेरै रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसकेर अहिले पनि अन्धोपनका साथ जोखिमपूर्ण जीवन बिताइरहेका छन् ।