© २०२३
पाल्पा, ७ साउन ।
शहरी विकास मन्त्रालयबाट प्राप्त रकमद्वारा गरिएको कालोपत्रे एक सातामै उप्किएको छ ।
मन्त्रालयबाट प्राप्त रकमले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको पूर्तीघाट बजारमा गरिएको कालोपत्रे एक हप्तामै उप्किएको हो ।
१ करोड ८८ लाख रुपैयाँको लागतमा गरिएको कालोपत्रे सडक हप्ता दिनमै उप्किंदा स्थानीय बासिन्दा भने निर्माण कम्पनी र सरोकारवाला निकायसंग आक्रोशित भएका छन् ।
ठुलो धनराशी राज्य कोषबाट खर्चिएर गरेको कालोपत्रे उप्किंदा राज्यको लगानी बालुवामा पानी जस्तै भएको स्थानीयहरुको भनाई रहेको छ । असारको अन्तिम हप्तामा कालोपत्रे सकेको चन्द्रकोट कन्स्ट्रक्सनले हतार हतारमा काम गर्दा र प्राविधिक रेखदेख नभएकोले यस्तो समस्या उत्पन्न भएको स्थानीय माया राना बताउँछिन् । शहरी विकास तथा डिभिजन भवन कार्यालयका प्राविधिकले भने सडक उप्किए पनि निर्माण कम्पनीले मापदण्ड अनुरुप कालोपत्रे गर्नेछ । प्राविधिक त्रुटीका कारण यस्तो हुन्छ । कालोपत्रे गर्न जिम्मेवारी प्राप्त निर्माण कम्पनीले समयमा काम नगर्ने, वर्षायाम सुरु भएपछि मौसमको प्रतिकुलतामा काम गरेकाले समस्या आएको स्थानीयको भनाइ छ ।