© २०२३
दाङ, ४ साउन ।
जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र आवेदन भरेकाहरुलाई कार्ड वितरण भईरहेको छ । आवेदन भर्ने काम शुरु भएको ३ वर्षपछि दाङमा बायोमेट्रिक सहित विवरण रहेको राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु भएको हो । असारको १ गतेबाट प्राविधिक प्रकृया थालनी गरेर अहिले कार्ड वितरणको काम भईरहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका कर्मचारी विपी भट्टले जानकारी दिए ।
जिल्लामा पहिलो चरणमा आएको ३१ हजार कार्ड वितरणको काम असारको २५ गतेबाट शुरु भएको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय, घोराहीबाट रेकर्ड गरिएको विवरणको मात्रै अहिले सेक्युरिटी चिप्स सहितको परिचय पत्र आएको छ ।
उनका अनुसार जिल्लाबाट पठाएको विवरणका आधारमा केन्द्रले पठाएको कार्डको बाकस रिसिभ गर्ने, रुजु गर्ने काम भएपछि पालो अनुसार कार्ड लिन आउने सूचनासहितको कोड पठाउने काम भइरहेको छ । जसका आधारमा अहिले व्यक्तिहरु प्राप्त गरेको सूचना अनुसार कार्ड लिन आउने गरेका भट्टले बताए । नागरिकको विवरणलाई डिजिटाईज्ड गर्न सेक्युरिटी चिप्स सहितको राष्ट्रिय परिचय पत्रको कार्ड जिल्लामा आउँदा आवेदन अनुसार नआएकाले मोबाईलमा सूचना पठाउने काम भईरहेको उनले बताए । कार्ड लिन आउँदा अनिवार्य आवेदक आफै उपस्थित हुनुपर्ने, सूचना प्राप्त भएको दिन नै आउँदा समयमा सेवा पाउने अवस्था रहेको भट्टको भनाई छ । कार्ड छपाई हुँदा क्रमवद्ध नभई आएकाले गएको माघ महिनासम्मको कार्ड जिल्लामा आईपुगेको र अरु पनि आउने प्रकृयामा रहेको बताईएको छ ।
जिल्लाको घोराही, तुलसीपुर र लमहीबाट राष्ट्रिय परिचय पत्रका लागि आवेदन भर्ने काम भईरहेको छ । केही समयअघि वडास्तरमा पनि अभियान चलाएर घुम्ती टोलीमार्फत आवेदन भर्ने काम भएको थियो । राष्ट्रिय परिचय पत्र नेपाली नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रका रुपमा लिर्र्ईएको छ । सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्न आर्थिक वर्ष २०६६–०६७ को वार्षिक नीजि तथा कार्यक्रममा नेपाली जनतालाई बहुपयोगी वायोमेट्रिक स्मार्ट कार्ड उपलब्ध गराउने घोषणा भए अनुसार कार्यान्वयनमा ल्याईएको हो ।