© २०२३
चन्द्रौटा(कपिलवस्तु), १ साउन ।
२०७४ को निर्वाचनमा पहिलो पटक निर्वचित भएका थिए टेकलाल सापकोटा । त्यही पहिलो कार्यकालबाट उत्कृष्ट काम गरेर निकै चर्चामा आएका हुन् उनी । अहिले उनको दोस्रो कार्यकालको पहिलो बर्ष समेत बितेको छ । विगतको कार्यकाल जस्तै दोस्रो कार्यकालको पहिलो वर्षमा उत्कृष्ट काम गरेको स्थानीय दिनेश सार्की बताउँछन् ।
जिल्लाकोे शिवराज नगरपालिका वडा नम्बर ३ ले आर्थिक वर्ष २०७९÷८१ का शत प्रतिशत योजना सम्पन्न गरेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । वडाले गरेका कामको बारेमा सार्वजनिक गर्ने नयाँ अभ्यासको समेत सुरुवात गरेको उनले जनाए ।
भ्रष्ट्राचार शून्य सहनशीलता भन्दै कुनै पनि कर्मचारीले केही कामको लागि पैसा मागेमा कारबाही गर्ने घोषणा समेत गरेका छन् । जनतासँग गरेका प्रतिवद्धतालाई क्रमशः पूरा गरिरहेको बताउँदै समृद्ध वडाको लागि सबैको साथ आवश्यक रहने उनको भनाई छ ।
वडा अध्यक्ष सापकोटाका अनुसार यस वर्ष वडामा ७ वटा टोल विकास समिति गठन गरिएकोे छ । हरेक टोलका समस्या र टोल सुधारको लागि वडाले उक्त समितिलाई सहयोग गरी विकास गर्ने छ । वडाको बलुहवा मझगाउँ हचुवाका नागरिकहरूको सहजताको लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । हरेक मङ्गलबार बलुहवाबाट सेवा प्रदान भइरहेको छ ।
यो आर्थिक वर्षमा वडाको ८ सय ९ मिटर सडक कालोपत्रे भएको छ । धनगढवादेखि भितरिया जाने सडक कालोपत्रे गरिएको छ । यस वर्ष नगरमा भएको कालोपत्रेको योजना यो एउटा मात्र हो । त्यस्तै १ हजार १ सय ४६ मिटर सडक ग्राभेल भएको छ । भने ३ सय ३१ मिटर सडक पिसिसी निर्माण भएको छ । वडाका ६४ वटा स्थानमा सडक बत्ती जडान गरिएको छ भने ४३ बण्डल जस्तापाता विपन्न नागरिकहरूलाई वितरण गरिएको छ ।
वडा अध्यक्ष सापकोटाले विद्यालयहरूमा जस्तापाता लगाउने, मन्दिर निर्माण, सामुदायिक भवन, नाली निर्माण भएको बताए । वडाका ८१ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान र ७ सय ४९ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । वडाका ७६ जनालाई बायोस्याण्ड फिल्टर र ७० जना बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरिएकोे उनले बताए । कृषकहरूलाई अनुदानदेखि महिलाहरूलाई ढकिया बनाउने, ढाकाको झोला बनाउने लगायतका सीपमूलक तालिमहरु सञ्चालन गरिएको उनी बताउँछन् ।
वडाले दाहसंस्कारको लागि निःशुल्क दाउरा, मुटु मिर्गौला डायलासिसका बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको सापकोटाले जनाए । वडा भित्रका २ सय ४ जना ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर स्वास्थ्य सेवा दिइएको उनले दाबी गरे । २१० जनाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन भने ५२ जनालाई रिफर गरिएको छ । आगामी वर्षका लागि तय भएका योजना सार्वजनिक गरिएको छ । वडामा रहेको धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटनसँग जोड्न राय माग गरिएको वडा कार्यालयले जनाएको छ ।