© २०२३
दाङ, २३ असार ।
राप्ती गाउँपालिकाको प्रगन्ना सिँचाई कुलो खन्ने बेलामा ढुंगाजन्य वस्तुको उत्खनन्का लागि प्रहरी, प्रशासन र पत्रकारले घुस लिएको घटना बाहिरिएपछि नेपाल पत्रकार महासंघ दाङले ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अध्यक्ष दुर्गालाल केसी र सचिव आरके शितलले एक विज्ञप्ती जारी गरी ढुंगाजन्य वस्तु उत्खननका लागि जिल्ला प्रशासन तथा सुरक्षा प्रमुख, जनप्रतिनिधि, पत्रकार लगायतलाई रकम बाँडेको घटना सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तीमा घटनाबारे आवश्यक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । ‘कुनै पनि अवैध कामको ढाकछोप गर्ने वहानामा पत्रकारका नाममा कुनै पनि रकम दिने काम नगर्न र कसैले रकम मागेमा तत्काल नेपाल पत्रकार महासंघमा जानकारी गराउन सम्बन्धित सबैलाई आह्वान गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।
घटनाको छानबिनका लागि अध्यक्ष दुर्गालाल केसी संयोजक रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा सन्तोष सुवेदी र उदय बिसी रहेका छन् । समितिले घटनाको सत्यतथ्य छानबिन गरी असार ३१ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
त्यसैगरी राप्ती गाउँपालिकाले पनि एक बिज्ञप्ती जारी गरी सोही घटनामा प्रहरी प्रशासन, पत्रकार र आफ्ना पालिकाका कर्मचारी पनि संलग्न भएको कुरा सामाजिक संजालमा आएकोले यसको सत्यतथ्य छानविनको माग गरेको छ । पालिका अध्यक्ष प्रकाश बिष्टले आज एक विज्ञप्ती जारी गरेर यस्तो माग गरेका हुन् ।