© २०२३
पाल्पा, २३ असार
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को हृदयघातको कारण मृत्यु भएको छ । बगनासकाली गाउँपालिका वडा नंं १ पिप्ले निवासी ५२ बर्षीय पाण्डेको हृदयघात भई उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, प्रभासमा मृत्यु भएको हो ।
शुक्रवार बेलुकी ६ः१५ बजे हृदयघात भई पाण्डेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो । कलेजका चिकित्सकले ७ बजे पाण्डेलाई मृतक घोषणा गरेका थिए । मृतक पाण्डेका २ छोरा र श्रीमती छन् । पाण्डेका छोराको गत बर्ष नै हृदयघात भई मृत्यु भएको थियो ।
पूर्व एमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डे पाल्पामा सरल र स्वच्छ छवि बनाएका नेता हुन् । उनी गत वर्ष सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वगनासकाली गाउँपालिका उपाध्यक्षमा उपविजयी भएका थिए ।
पाण्डेको शवलाई शनिवार विहान तानसेको टुँडिखेलमा राखी जिल्लाका सबै राजनीतिक दल, आफन्त इष्टमित्रहरुले नेकपा एस पाल्पाका अध्यक्षप्रति श्रद्धाञ्जली दिएका थिए । पाण्डेको शव शनिबार बिहान राम्दीमा लगी अन्त्येष्टी गरिएको छ । जिल्ला अध्यक्ष पाण्डेको निधनले नेकपा एसमा ठुलो क्षति पुगेको पोलिटव्युरो सदस्य एव लुम्विनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेले बताए ।