© २०२३
प्यूठान, १५ असार ।
नौवहिनी गाउँपालिका बाहाने प्यूठानले नागरिकको मन छुने गरी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । नीतिले जोड दिएका कार्यक्रमलाई बजेटले समेत सम्वोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए । गाउँपालिकाको प्रस्तावित बजेटको आकार ६५ करोड ८२ लाख ३ सय २६ रुपैयाँ छ ।
गाउँपालिकाले प्रसुती केन्द्रमा स्वास्थ्य सेवा लिन आएका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि जिल्ला अस्पताल विजुवार रिफर गर्दा एम्बुलेन्स सेवा निःशुल्क गर्ने भएको छ । सोही अनुसार गाउँपालिकाले हालैमात्र एम्बुलेन्स समेत खरिद गरिसकेको छ । प्रत्येक टोलमा आवश्यकताको पहिचान गरी स्टेचरको समेत व्यवस्था मिलाउने कार्यक्रम पालिकाले ल्याएको छ । उपाध्यक्ष कोशेली कार्यक्रमलाई पनि अघि सारिएको छ ।
दिवा खाजा कार्यक्रम अन्तर्गत सवै विद्यालयमा स्थानीय खाद्य बस्तुको उपयोगलाई जोड दिने नीति तथा कार्यक्रम गाउँपालिकाले ल्याएको छ । त्यस अन्तर्गत रैथाने बालीहरु कोदो, मकै, भट्टमास, गहुँ, जौँ, मार्सीधान, फापर जस्ता स्थानीय रुपमा उत्पादित खाद्यवस्तुको संरक्षण र प्रवद्र्धन गर्नका लागि विशेष कार्यक्रम अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।
एक वडा, एक कृषि पकेट क्षेत्रको अवधारणा अनुसार प्रत्येक वडामा उत्पादन हुने बालीको पहिचान भएको छ । वडा नम्वर १ मा आलु र रायो खेती, २ मा अदुवा, ३ मा कोदो, ४ मा अलैची, ५ मा मकै, ६ मा सुन्तला र चौमासिक सिमी, ७ मा सुन्तला, टिमुर र वडा नम्वर ८ टिमुरखेतीको पकेट क्षेत्र निर्धारण भएको छ ।
गाउँपालिकाभित्र आलु चिप्स उद्योग संचालनका लागि प्रक्रिया थालनी गर्ने कार्यक्रम अघि सारिएको छ । संभाव्यता अध्ययन गरी खानेपानी उद्योगको स्थापनाको कार्यक्रम समेत पालिकाले ल्याएको छ ।
व्यावसायिक उत्पादनमा लाग्न हौसला दिनका लागि किसानले पालनपोषण गरेका खसीबोकाहरु २ सय किलो भएमा प्रति किलो ८० रुपैयाँका दरले नगद अनुदान दिने कार्यक्रम ल्याएको पौडेलले बताए । संकलन केन्द्र र हाटबजारको कार्यक्रम पनि अघि सारिएको उनले सुनाए । ‘ सवै विद्यालय र स्वास्थ्यचौकीहरुमा नयाँ आर्थिक वर्षदेखि विद्युत्तीय हाजिरीको व्यवस्था गाउँपालिकाले गर्दै छ । आगामी चार वर्षभित्र बालविवाहलाई शून्यमा झार्ने गाउँपालिकाको दीर्घकालिन लक्ष्य छ ।