© २०२३
बुटवल, ३० वैशाख ।
तिलोत्तमा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधार गर्ने उद्देश्यले एक हप्ते सामाजिक तथा सृजनात्मक कला शिक्षण तालिम सम्पन्न भएको छ । नगरका ४२ विद्यालयका शिक्षकहरुलाई लोक बाजा, लोक गित, तथा चित्रकला सम्बन्धी आधारभुत सिपमा आधारित प्रशिक्षण दिईएको हो । तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सास्कृतिक कला केन्द्रको ब्यवस्थापनमा शैक्षिक पाठ्यक्रमका बिषयबस्तुलाई उपयोगी हुने गरी तालिम गरिएको साधना सास्कृतिक कला केन्द्रका अध्यक्ष अनु रजकले बताए । ‘झिकाउ, टिकाउ, सिकाउ विद्यालय शैक्षिक सुधार कार्यक्रम, हाम्रो अभियान’ नारासहित आयोजना गरिएको तालिमबाट शिक्षकहरुको क्षमता अभिवृद्धि हुने उनले दाबी गरे ।
समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले तालिम सोचेभन्दा पनि धेरै उपलब्धि हासिल हुनेमा आफु आशावादी रहेको बताईन् । कक्षाकोठामा फरक ढंगबाट सिकाई गर्नुपर्ने भावनालाई मध्यनजर गरेर तालिम चलाएको उनले बताईन् । सामुदायिक विद्यालयमा अभिभावकहरुको आकर्षण बढाउने लक्ष्य सहित रचनात्मक सिकाई पद्धतिलाई अगाडि बढाईएको उनले बताईन । शैक्षिक सुधारका लागि सामुदायिक विद्यालयमा निःशुल्क खाजा ब्यवस्थापन चलाएको भन्दै उनले थप नया कार्यक्रमलाई अघि बढाउन जरुरी रहेको बताइन् । विद्यार्थीहरुमा सिकाईलाई छिटोछरितो र सरल ढंगबाट गर्न सकिने बताउन कलात्मक ढंगको विधि महत्वपूर्ण हुने उनले बताईन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका शिक्षा प्रमुख उपसचिव गंगाराम आचार्य, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरी पाण्डेय, सहभागीको तर्फबाट रुद्रलाल भण्डारी, सबिना न्यौपानेले समयसापेक्ष तालिम महत्वपूर्ण रहेको भन्दै निरन्तरता दिन सुझाव दिए ।
तालिममा लोक नृत्य अनुसन्धानकर्ता राम थापा (रोचक), राष्ट्रिय नाचघरका निवर्तमान महाप्रबन्धक राजेश थापाले सहजिकरण गरेका थिए । यसैगरी नृत्यमा अनु रजक, मुकेश गुरुङ, प्रितम राना र रोशन गुरुङले चित्रकला, गायन र बाद्यबादन ईन्द्र बहादुर बिश्वकर्मा, हिमाल थापा, पुनम थापाले पाठ्यक्रममा आधारित शिक्षकहरुलाई ७ दिनसम्म तालिम दिएका थिए । तिलोत्तमा नगरपालिकाका ४२ विद्यालयका शिक्षकहरु सहभागी रहेको साधना सास्कृतिक कलाकेन्द्रका ब्यवस्थापक प्रियंका थापाले बताईन् ।